रियल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पे बारे कसले के भने ?

एजेन्सी – च्याम्पियन्स लिग राउण्ड अफ १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल म्याड्रिड विरुद्ध महत्वपूर्ण जित निकाल्यो। पिएसजीले खेललाई धेरै हदसम्म नियन्त्रणमा राखेको थियो। खेलभर पिएसजीको तर्फबाट २१ प्रहार भएका थिए। ती मध्ये ८ प्रहार टार्गेटमा थिए।

पिएसजीको तर्फबाट लगातार प्रहार भएपनि रियल म्याड्रिडका डिफेन्डर र गोलरक्षकले धेरै राम्रो प्रदर्शन गर्दा जित निकाल्न पिएसजीले अन्तिम समय सम्म मिहिनेत गर्न परेको थियो। पिएसजीको तर्फबाट भएका अधिकांश प्रहार एम्बाप्पेको तर्फबाट भएका थिए। धेरै प्रहार सफल नभएपनि एम्बाप्पेले खेलको अन्त्यमा गोल गरी छाडे। पिएसजीलाई जिताएका एम्बाप्पे बारे यति बेला सर्वत्र चर्चा भइरहेको छ।

एम्बाप्पे बारे कसले के भने ?

पिएसजीको जित पछि रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले समेत एम्बाप्पेको प्रशंसा गरे। उनले एम्बाप्पे युरोपेली फुटबलकै उत्कृष्ट खेलाडी रहेको बताए। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले एम्बाप्पेलाई रोक्न असम्भव जस्तै रहेको बताए। एम्बाप्पेलाई रोक्न धेरै प्रयास गरेपनि नसकेको एन्सेलोटीको भनाई छ।

“एम्बाप्पे युरोपेली फुटबलकै उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्न असम्भव नै छ। हामीले उनलाई नियन्त्रण गर्ने प्रयास गर्यौं। मिलिटाओले धेरै राम्रो काम गरे। तर एम्बाप्पे आफ्नो बाटो खोजेरै छाडे।”,एन्सेलोटीले भने।

त्यस्तै पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले पनि एम्बाप्पेको प्रशंसा गरे। एम्बाप्पेले युवा अवस्थामा पनि परिपक्कता देखाइरहेको पोचेटिनोले बताए। एम्बाप्पेसँग एक वर्ष भन्दा बढी समय काम गर्दा आफूले एम्बाप्पे कस्ता खेलाडी हुन् भन्ने थाहा पाएको पोचेटिनोले सुनाए। एम्बाप्पेको यस्तै प्रदर्शन जारी रहने पोचेटिनोको अपेक्षा छ।

उनले भने,”मैले भनिरहेको छु कि एम्बाप्पे युवावस्थाको बावजुद अविश्वसनीय परिपक्वता देखाइरहेका छन्। उनी विश्वकै उत्कृष्ट मध्येका एक हुन्। मैले उनीसँग एक वर्ष भन्दा बढी समय देखि काम गरिरहेको छु। एम्बाप्पे साँचै उत्कृष्ट छन्।”

यस्तै पिएसजीका गोलरक्षक जियानलुजी डोनारुम्माले एम्बाप्पेको प्रशंसा गर्न छुटाएनन्। डोनारुम्माले एम्बाप्पेलाई एलियनको संज्ञा दिए। एम्बाप्पे अविश्वसनीय खेलाडी रहेको डोनारुम्माको भनाई छ। त्यसक्रममा डोनारुम्माले एम्बाप्पेको स्तर प्रशिक्षणमा समेत देखिने बताए। एम्बाप्पेले आफ्नो भविष्य बारे जे जस्तो निर्णय गरेपनि उनी पिएसजीमा रहुनजेल आफूहरु रमाउने डोनारुम्माको भनाई छ।

“एम्बाप्पे एलियन हुन्। उनी अविश्वसनीय छन् र त्यो हामी प्रशिक्षणमा पनि देखिरहेका हुन्छौं। उनी आउने सिजन के गर्छन् थाहा छैन, तर उनी हामीसँगै रहुनजेल सम्म रमाउने छौँ।,डोनारुम्माले भने।

पूर्व फुटबलर थियरी हेनरी पनि एम्बाप्पेको प्रशंसा नगरी बस्न सकेनन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा हेनरीले एम्बाप्पेको गोलले मज्जा दिएको बताए। एम्बाप्पेको यस्तै प्रदर्शन हेर्नको लागि मानिसहरुले टेलिभिजन खोल्ने हेनरीको भनाई छ। एम्बाप्पेसँग प्रशस्त प्रतिभा रहेको र उनी त्यतिमै नरोकिने हेनरीले दावी गरे। रियल विरुद्ध एम्बाप्पेको गोल हेर्दा धेरै आनन्द लागेको हेनरीले बताए।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१८:०८

नेयमारले दिएको त्यो चलाखीपूर्ण पास जसलाई एम्बाप्पेले गोलमा परिणत गरे … [भिडियो सहित]