एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) अष्ट्रियन क्लब रेडबुल साल्जवर्गले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल रेडबुल एरिना वाल्समा नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ । उपाधिको बलियो दावेदार बायर्नलाई घरेलु मैदानमा स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ ।
अष्ट्रियन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको साल्जवर्ग करिम एडियमी, नोआ ओकाफोर, निकोलस सेइवाल्ड, ब्रेन्डेन आरोनसन, निकोलस कापाल्डो, मोहम्मेद कामरा, एन्ड्रिएस अल्मेर, म्याक्सिमिलियन, ओवेर, ओउमर सोलेट, रासमुस क्रिस्टेन्सेन र गोलरक्षक फिलिप कोल्न रहेका छन् ।
यता, बायर्न पनि अवे जित निकाल्दै दोस्रो लेगलाई सहज बनाउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । बुन्डेसलिगाको पछिल्लो खेलमा वोचुमसँग ४–२ ले स्तब्ध भएको बायर्न साल्जवर्गलाई हराउँदै बायर्न जितको लय पक्रन चहान्छ । बायर्न २२ खेलबाट ५२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
टोलीसँग गोलमेसिन रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, किङ्सले कोमान, योसुवा किम्मिख, सर्ज जिनाब्री, लुकास हर्नान्डेज, निकोलस सुल, बेन्जामिन पाभार्ड र गोलरक्षक तथा कप्तान म्यानुयल नुएर रहेका छन् ।
यि दुई टोली चौथोपटक भिड्न लागेका हुन् । यसअघिको तीन भेटमा बायर्नले दुई तथा साल्जवर्गले एक खेल आफ्नो पक्षमा पारेको छ । सन् २०२० को समूह चरणमा बायर्नले दुवै खेलमा फराकिलो जित निकाल्न सफल भएको थियो ।

