च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित कायमै, इन्टर पराजित !

एजेन्सी – मोहम्मद सलाह र सब्सिच्युट ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोको गोलमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर प्रि–क्वाटरफाइनलको पहिलो लेगमा महत्वपूर्ण अवे जित निकालेको छ ।

लिभरपुलले घरेलु टोली इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । मिलानोमा बुधबार राति भएको भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

छैटौं मिनेटमा लोउटारो मार्टिनेजको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । नवौं मिनेटमा एलेक्सान्डर आर्नाेल्डको कर्नरमा फाविन्होको प्रयासलाई स्क्रिनिएरले विफल पारे । रिवाउन्डका थियागो अलकान्ताराको प्रहारले पोस्टको दिशा लिन सकेन ।

१४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको फ्रिकिकमा साडियो मानेको ६ यार्ड भित्रको डाइभिङ हेडर पोस्ट नजिकैबाट बाहिरियो । १६औं मिनेटमा हकान चलहानोग्लुको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा घरेलु टोलीले अग्रता लिन सकेन । २३औं मिनेटमा साडियो मानेको प्रयास साइड नेटिङ भयो ।

६०औं मिनेटमा डेन्जेल डमफ्रेजको पासमा इडेन जेकोले गोल गरेपनि गोलले मान्यता नपाउँदा इन्टर अग्रताबाट चुक्यो । उनी पुरै अफसाइड देखिएको थियो । ७३औं मिनेटमा सब्सिच्युट रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ४६औं मिनेटमा डिएगो जोटाको स्थानमा मैदान छिरेका फिर्मिनोले एन्ड्रिउ रोबर्टसनको कर्नरमा हेडमार्फत सुन्दर फिनिस गरेका थिए ।

८२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे । एलेक्सान्डर आर्नाेल्डबाट आएको बललाई इन्टरका डिफेन्डरले क्लियर गर्न नसकेपछि सलाहको प्रहारले जाली चुमेको थियो ।

यो महत्वपूर्ण अवे जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब घरेलु मैदानमा ८ मार्चमा हुने खेलमा लिभरपुलले यही नतिजा कायम राख्न सके लिभरपुल च्याम्यिन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८०८:५३

कसो सकिएन बायर्नको चुरीफुरी, झन्डै हारेन !