एजेन्सी – इन्ज्युरी समयमा किङ्सले कोमानले गोल गरेपछि जर्मन च्याम्पियन बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग अन्तर प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हारबाट जोगिएको छ ।
बायर्नले अष्ट्रियन च्याम्पियन रेडबुल साल्जवर्गसँग १–१ को गोलको बराबरी खेलेको हो । रेडबुल एरिना वाल्समा बुधबार राति भएको खेलमा घरेलु टोलीका चुकवुवुइकी एडामुले गोल गरेपनि अन्तिम समयसम्म सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
२१औं मिनेटमा सब्सिच्युट चुकवुवुइकी एडामुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले ब्रेन्डेन आरोनसनको पासमा गोल गर्न सफल भएका थिए । चुकवुवुइकी एडामुले मैदान प्रवेश गरेको १०औं मिनेटमा गोल गर्न सफल भएका थिए । चुकवुवुइकी एडामुले चोटका कारण बाहिरिएका नोआ ओकाफरको स्थान लिएका थिए ।
खेलको सुरुवातमै पछि परेपछि बायर्नले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो । बायर्नको आक्रमणमा गोलरक्षक फिलिप कोल्न लगातार बाधक बनेपनि अन्तिम समयमा रोक्न सकेन ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा किङ्सले कोमानले गोल गर्दै टोलीलाई हारबाट जोगाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए ।
यो बराबरीको फाइदा बायर्नलाई नै हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम रहे बायर्न अवे गोलको आधारमा क्वाटरफाइनलमा पवेश गर्नेछ। । दोस्रो लेग ८ मार्चमा बायर्नको मैदानमा हुनेछ ।

