एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपा लिगको अन्तिम ३२ को प्ले अफको पहिलो लेगमा घरेलु मैदानमै स्कटिस क्लब रेन्जर्ससँग हार बेहोरेको छ । युवा स्टार एर्लिंग हालाण्ड बिना उत्रिएको डर्टमुन्ड घरेलु मैदानमा रेन्जर्ससँग ४–२ ले पराजित भएको हो ।
सिग्नल इडुना पार्क जर्मनीमा बिहीबार राति भएको खेलमा रेन्जर्सको जितमा जेम्स टाभेरनिएर, अल्फ्रेडो मोरेलोस र जोन लन्डस्ट्रमले गोल गर्दा एक गोल उपहार पाएको थियो । डर्टमुन्डका जुडे बेलिङघम र राफायल गुरेइरोले गोल गरेपनि हार टार्न सकेन ।
खेलको ३८औं मिनेटमा जेम्स टाभेरनिएरले पेनाल्टीमा गोल गर्दै रेन्जर्सलाई सुरुवाती अग्रता दिलाए । ४१औं मिनेटमा अल्फ्रेडो मोरेलोसले गोल गर्दै पहिलो हाफमा रेन्जर्सको अग्रता दोब्बर पारे ।
४९औं मिनेटमा जोन लन्डस्ट्रमले गोल गरेपछि डर्टमुन्ड खेलमा ३–० ले पछि परेको थियो । ५१औं मिनेटमा जुडे बेलिङघमले गोल गर्र्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ५४औं मिनेटमा डान एक्सेल जागाडोउले आत्मघाती गोल गरेपछि डर्टमुन्डको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।
८२औं मिनेटमा राफायल गुरेइरोले गोल गर्दै डर्टमुन्डको आशा कायम राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्डले घरेलु मैदानमा ४–२ को हार बेहोर्न पुग्यो ।
घरेलु मैदानमा यो हारसँगै डर्टमुन्डको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना झिनो बनेको छ । अब डर्टमुन्डले अघिल्लो चरण प्रवेश गर्न दोस्रो लेगमा कम्तीमा पनि ३–० को जित निकाल्नुपर्ने हुन्छ । रेन्जर्सलाई भने यही नतिजा कायम राखे हार २–० को हारले पनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ ।

