एजेन्सी – लालिगा लिडर रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको हारले आफूलाई मात्र नभई क्लबका अध्यक्षलाई पनि चोट पुगेको बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा एन्सेलोटीले पिएसजीसँगको हारले रियलका सबैलाई चोट पुगेको बताएका हुन्।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा एन्सेलोटीले पिएसजी विरुद्धको खेलमा भोगेको हारले आफू मात्र नभई क्लबका सबै खेलाडी र अध्यक्षलाई समेत चोट पुगेको बताए।
“मैले अध्यक्षसँग, क्लबका सबैसँग कुरा गरेको छु। हामीलाई जस्तै सबैलाई दुख लागेको छ, चोट पुगेको छ। पिएसजी विरुद्धको खेलमा रियलको छवि राम्रो थिएन। सो खेलमा जे भयो त्यसलाई परिवर्तन गर्न त हामी सक्दैनौं। सबै भन्दा खराब हाम्रो प्रदर्शन थियो।”,एन्सेलोटीले भने।
पिएसजी विरुद्धको खेलमा भएको खराब प्रदर्शनको जिम्मेवारी आफूले लिने पनि एन्सेलोटीले बताए। सो खेलबाट सिकेर आफूहरु अगाडी बढ्ने पक्षमा रहेको एन्सेलोटीको भनाई छ।
उनले भने,”त्यस खेललाई लिएर आलोचना जायज छ किनभने हामीले खराब खेल्यौं। पहिलो आलोचक म आफैं हुँ र त्यसको जिम्मेवारी म आफैं लिन्छु। त्यस प्रदर्शनबाट हामीले धेरै सिकेका छौँ।”
एन्सेलोटीले रियल म्याड्रिडसँग अझै मौका छ भन्ने समेत विश्वास गर्छन्। च्याम्पियन्स लिगको अर्को लेगमा पिएसजीलाई कडा टक्कर दिने तयारीमा आफूहरु रहेको उनले बताए। सो खेल जित्ने दावी नगरेपनि सहजै पिएसजीलाई छाड्ने पक्षमा आफूहरु नरहेको एन्सेलोटीको भनाई छ।

