एजेन्सी – लियोनेल मेस्सी सन् २०२१ को जुलाई लाग्ने बितिकै फ्री एजेन्ट भए। बार्सिलोनाको सम्झौता सकिएसँगै उनी फ्री एजेन्ट भएका थिए। जुलाई १ बाटै उनी विश्वको जुन सुकै क्लब निशुल्क जान पाउने भएका थिए। तर धेरैले उनी बार्सिलोनामै रहने अपेक्षा गरेका थिए। मेस्सी र बार्सिलोना एक प्रकारको सहमतिमा पुगिसकेको र छिट्टै सम्झौता हुने चर्चा त्यतिबेला चलेको थियो।
लामो गतिरोधका बीच अगस्टमा मेस्सी र बार्सिलोना बीच हुने भनिएको सम्झौता बारे जे खबर आयो, त्यसले पूरा विश्वलाई नै चकित बनाइदियो। लालिगा नियम तथा बार्सिलोनाको आर्थिक अवस्थाका कारण बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न नमिल्ने भयो।
त्यसबेला बार्सिलोनाले केहि खेलाडी बेच्न सक्थ्यो र केहि खेलाडीहरुको पारिश्रमिक घटाउन सक्थ्यो भने मेस्सी सायद बार्सिलोनामै हुन्थे। मेस्सी बार्सिलोना छाड्न बाध्य हुनुको दोष धेरै खेलाडीहरुलाई लाग्यो।
हालसालै आएर मेस्सीले बार्सिलोना छाड्नु पछाडीका केहि तथ्यहरु बाहिर आएका छन्। एक खबरका अनुसार मेस्सीको बहिर्गमनमा जेरार्ड पिकेको समेत भूमिका थियो। मेस्सीको बहिर्गमनमा पिकेको समेत भूमिका रहेको दावी क्याटलान अखबार एल पैसले गरेको हो।
सो अखबारका अनुसार त्यसबेला बार्सिलोना अध्यक्ष जोआन लापोर्टा मेस्सीलाई क्लबमा राख्न विभिन्न विकल्पहरुको खोजि गरिरहेका थिए। त्यसक्रममा लापोर्टा र पिके बीच समेत छलफल भएको थियो। त्यसबेला पिकेले मेस्सीलाई बार्सिलोनाबाट जान दिँदा नै राम्रो हुने सुझाव दिएका थिए।
पिकेले मेस्सीलाई बार्सिलोनामा राख्नै पर्छ भन्ने कुरा नरहेको बताएको मेस्सीलाई समेत थाहा भएको बताइन्छ। पिकेले त्यस्तो भनेको थाहा पाएपछि मेस्सीले चित्त दुखाएको सो अखबारको दावी छ।

