एजेन्सी – विश्वभरका फुटबल मन पराउनेहरुको ध्यान अहिले फ्रान्सका युवा स्टार किलियन एम्बाप्पेमा छ। एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहन्छन् कि रियल जान्छन् भन्नेमा सबैको चासो छ। रियल म्याड्रिडबाट खेल्ने सपनाका कारण एम्बाप्पेको गन्तव्य रियल हो भन्ने स्पष्ट छ।
पिएसजी र एम्बाप्पे बीचको सम्झौता यहि सिजनको अन्त्य सम्मका लागि मात्रै छ। यस्तोमा पिएसजीले एम्बाप्पेलाई छोटो समयको सम्झौताका लागि फकाउने प्रयास गरिरहेको छ। पिएसजीका धेरै जस्तो प्रस्ताव अस्विकार गरेपनि उनी पिएसजीमै रहने झिनो सम्भावना बाँकी छ। पिएसजीले छोटो समयका लागि मात्र सम्झौता थप गरेर भएपनि एम्बाप्पेलाई क्लबमा राख्ने योजना बनाइरहेको छ। आज हामी यहाँ एम्बाप्पे केहि समयको लागि पिएसजीमै रहन सक्ने केहि कारणहरु बारे चर्चा गर्दैछौँ।
एक हप्ताकै एक मिलियन युरो पारिश्रमिक
विभिन्न मिडियामा आएका खबरका अनुसार पिएसजीले एम्बाप्पेलाई साताकै एक मिलियन युरो पारिश्रमिक दिन तयार देखिएको छ। एम्बाप्पे थप एक वर्ष पिएसजी बस्न तयार हुन्छन् भने पिएसजीले उनलाई ५५ मिलियन युरो पारिश्रमिक दिनेछ। अहिले त्यति पारिश्रमिक विश्वका कुनै पनि खेलाडीले पाउँदैनन्। यति एम्बाप्पे नयाँ सम्झौताका लागि तयार हुन्छन् भने उनी विश्वकै सबै भन्दा बढी कमाउने फुटबलर हुनेछन्।
मैदान भित्र र बाहिर नेतृत्व
पिएसजीले एम्बाप्पेलाई आफ्नो योजनाको केन्द्रमा राख्न चाहेको छ। यसको अर्थ यो हो कि एम्बाप्पे पिएसजीको मुख्य खेलाडी हुनेछन्। क्लबले उनलाई लियोनेल मेस्सी र नेयमार भन्दा बढी बढी प्राथमिकता दिनेछ। यसले उनको आम्दानी पनि वृद्धि गर्नेछ। विभिन्न प्रयोजनहरु एम्बाप्पेको पोल्टामा जान सक्नेछन्।
२०२३ मा क्लब छाड्ने अवसर
पिएसजीले एम्बाप्पेसँग छोटो समयका लागि मात्र सम्झौता गर्ने बताइन्छ। त्यस्तो हुँदा एम्बाप्पे सन् २०२३ पछि पिएसजी छाड्न पाउनेछन्। त्यसपछि एम्बाप्पेले रियल म्याड्रिड गएर आफ्नो सपना पूरा गर्न सक्नेछन्।
पिएसजी आइकन बन्ने मौका
पिएसजी आएदेखि उनले क्लबलाई धेरै उपाधिहरु जित्न मद्दत गरिसकेका छन्। पिएसजीमा रहेर उनले लगभग सबै डोमेस्टिक उपाधिहरु जितिसकेका छन्। अब उनले पिएसजीबाट कुनै उपाधि जित्न बाँकी छ भने त्यो च्याम्पियन्स लिग हो। पिएसजीमा रहेर च्याम्पियन्स लिग जित्न सकेको खण्डमा उनी पिएसजी आइकन बन्नेछन्।
जिदानसँग काम गर्ने अवसर
पिएसजीले अहिले एम्बाप्पेको सम्झौता पछि सबै भन्दा बढी ध्यान केहिमा दिरहेको छ भने त्यो प्रशिक्षक परिवर्तन हो। पिएसजीले क्लबको प्रशिक्षकमा जिनेदिन जिदानलाई ल्याउन चाहेको छ। बताइएअनुसार, जिदान पिएसजी आउन तयार भैसकेका छन्। यदि एम्बाप्पे सम्झौता थप गर्छन् भने उनले जिदानसँग काम गर्ने अवसर पनि पाउनेछन्।

