जाभी भन्छन् – ‘अब सबै खेल हाम्रा लागि फाइनल हुन्, सबै खेलमा जित चाहिएको छ’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले सिजनका बाँकि सबै खेल फाइनल जस्तै हुने बताएका छन्। लालिगामा भ्यालेन्सियाको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले सिजनका बाँकी सबै खेल फाइनल जस्तै महत्वपूर्ण रहेको बताएका हुन्।

शिर्ष चारमा अटाएर च्याम्पियन्स लिगका लागि छनौट हुने अभियानमा रहेको बार्सिलोनाले आइतबार भ्यालेन्सियाको सामना गर्दैछ। भ्यालेन्सियाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना जित्नै पर्ने दबावमा हुनेछ।

सो खेल बारे बोल्दै जाभीले भ्यालेन्सिया विरुद्धको खेलमा जित निकाल्न अत्यावश्यक रहेको बताए। उनका अनुसार शिर्ष चारमा रहन भ्यालेन्सियाबाट तीन अंक खोस्नै पर्नेछ।

“हरेक खेल हाम्रा लागि फाइनल जस्तै हो। हामीलाई जसरी पनि शिर्ष चारमा रहनु छ। हामीलाई तुरुन्तै अंक चाहिएको छ। भ्यालेन्सिया विरुद्ध जित अत्यावश्यक छ।”,जाभीले भने।

सिजनको शुरुवातमा निकै खराब प्रदर्शन गरेका कारण बार्सिलोना यति बेला शिर्ष चारमा पर्न समेत संघर्ष गरिरहेको छ। गत सिजनहरुमा उपाधिका लागि भिड्ने बार्सिलोनाको निकै नै नाजुक अवस्थामा पुगेपछि बार्सिलोनाले प्रशिक्षकको जिम्मेवारी जाभीलाई दिएको थियो।

जाभी बार्सिलोनालाई लयमा फर्काउने प्रयास गरिरहेका छन्। जाभीले बार्सिलोनामा विभिन्न खेलाडीहरु थप गरेका छन्। थपिएका खेलाडीहरुको प्रदर्शन सन्तोषजनक देखिएको छ र बार्सिलोना पहिला भन्दा राम्रो अवस्थामा पुगेको छ। बार्सिलोना यति बेला लालिगाको शिर्ष चारबाट बाहिर छ। शिर्ष चारमा प्रवेश गर्न र त्यहाँ टिकिरहनको लागि बार्सिलोनाले सिजनका बाँकी खेलमा जित्नै पर्ने बाध्यता छ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१०:२७

“रोनाल्डो भित्र्याएर युनाइटेडले गर्न नहुने गल्ति गर्यो, उनलाई क्लबबाट निकाल्नै पर्छ”