एजेन्सी – जोसे मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षकमा पर्छन्। फुटबल प्रशिक्षकको रुपमा लामो समय देखि सक्रिय उनले क्लब फुटबलमा जित्न सम्भव लगभग सबै उपाधिहरु जितेका छन्। हाल उनी इटालियन क्लब एएस रोमाको जिम्मेवारी सम्हाली रहेका छन्।
रोमालाई सिरी ‘ए’मा राम्रो स्थानमा उभ्याउने उनको प्रयास जारी छ। हालको अवस्थामा रोमा च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कम देखिन्छ। तर रोमा कन्फरेन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
यसै बीच एक सय ५० भन्दा बढी च्याम्पियन्स लिग खेल पूरा गरिसकेका उनले च्याम्पियन्स लिगलाई मिस नगरेको बताएका छन्। हालसालै एक पत्रकार सम्मेलनका क्रममा मोरिन्होले च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगका लागि दासीन महसुस नगरिरहेको बताएका हुन्।
“म १ सय ५० भन्दा बढी च्याम्पियन्स लिगमा सहभागी भएको छु। यसमा मलाई गर्व छ र त्यसमा आफूलाई भाग्यमानी सम्झिन्छु। युरोपा वा कन्फरेन्स लिग खेल्दै छु भनेर मलाई रुनु छैन। त्यसमा म उदासीन महसुस गर्दिन।”,मोरिन्होले भने।
त्यस्तै मोरिन्होले च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिडको खेल मन नपरेको पनि बताएका छन्। उनले इन्टर मिलान र लिभरपुलको खेल राम्रो लागेको बताए।
उनले भने,”मैले धेरै ठूला च्याम्पियन्स लिग खेलहरू हेरेको छैन। मलाई पिएसजी र रियल बीचको खेल मन परेन। तर इन्टर र लिभरपुलबीचको खेल भने राम्रो थियो।”

