एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले सिजनको १७ औँ जित निकालेको छ। शनिबार राति नर्विच सिटी विरुद्धलाई पराजित गरेसँगै लिभरपुलले १७ औं जित दर्ता गराएको हो।
प्रिमियर लिग उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिष्पर्धा गरिरहेको लिभरपुलले नर्विचलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। खेलको दोस्रो हाफको शुरुवातमै पछि परेपनि लिभरपुलले नर्विच विरुद्ध जित निकाल्यो।
लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेनन्। लिभरपुलबाट पहिलो हाफमा कयौं प्रहार भएपनि गोल हुन भने सकेन।
नर्विचले ४८ औं मिनेटमा लिभरपुल विरुद्ध अग्रता लिएको थियो। नर्विचलाई मिलोट राशिकाले अग्रता दिलाएका थिए। तर नर्विचको सो अग्रता लामो समय टिकेन। खेलको ६४ औँ मिनेटमा साडियो मानेको गोलले लिभरपुललाई खेलमा फर्कायो।
त्यसको तेस्रो मिनेटमै लिभरपुलका मोहम्मद सलाहले लिभरपुलका लागि दोस्रो गोल गरे। त्यस्तै लिभरपुलका लागि तेस्रो गोल जनवरी ट्रान्सफर विन्डोमा पोर्चुगिज क्लबबाट आएका लुइस डियाजले गरे। सो गोल डियाजको पहिलो लिभरपुल गोल थियो।
खेलभर बलमा लिभरपुलको ७० प्रतिशत पकड रह्यो। लिभरपुलको तर्फबाट कुल २९ प्रहार भएका थिए। जसमा ८ प्रहार टार्गेटमा थिए। त्यस्तै नर्विचको तर्फबाट भने मात्रै ६ प्रहार भएको थियो। त्यसमा मात्र एक प्रहार टार्गेटमा थियो, जुन गोलमा पनि परिणत भयो।
नर्विच विरुद्धको खेलमा जित निकालेसँगै लिभरपुलको ५७ अंक भएको छ। लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा छ भने नर्विच लिगको पुछारमा छ।

