उडिरहेको सिटीलाई टोटेनह्यामले जमिनमा ल्यायो, लिभरपुललाई फाइदा !

एजेन्सी – ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा टोटेनह्याम हटस्परले प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। केनले दुई उत्कृष्ट गोल गरेपछि टोटेनह्यामले सिटीलाई पराजित गरेको हो।

टोटेनह्यामको जितमा ह्यारी केनले दुई र डिजान कुलसेभ्स्कीले एक गोल गरे। निकै प्रतिष्पर्धात्मक बनेको खेलको शुरुवातमै कुलसेभ्स्कीले गोल गरेका थिए। खेलको चौंथो मिनेटमै कुलसेभ्स्कीको गोलमा टोटेनह्यामले अग्रता लिएको थियो। उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए ।

३३औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले गोलरक्षक ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई पुनः २–१ को अग्रता दिलाए । केनले ह्युङ मिन सनको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा केनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । क्रिस्टियन रोमेरोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा महारेज चुकेनन् ।

तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो हारसँगै सिटीले शीर्षस्थानमा ९ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । सिटी लिभरपुलभन्दा ६ अंकले अघि छ । शीर्षस्थानमा रहेको सिटीको २६ खेलबाट ६३ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५७ अंक छ । सिटीलाई हराएको टोटेनहम २३ खेलबाट ३९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८०९:४५

एम्बाप्पे, नेयमार र मेस्सी तीनै उतारेको खेलमा पिएसजीको लज्जासपद हार !