एजेन्सी – कप्तान करिम बेन्जेमाले एक गोलसँगै दुई असिस्ट दिएपछिस्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ ।
रियलले घरेलु मैदानमा डिर्पोेटिभो एलाभेसमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा सान्टियागो बर्नबेउमा रियलको सहज जितमा मार्काे एसेन्सियो, भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै भएको थियो ।
शनिबार राति भएको खेलमा घरेलु टोली रियलले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव सिर्जना गरेपनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६३औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
८०औं मिनेटमा कप्तान बेन्जेमाकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । यो सिजनको ला ला लिगामा भिनिसियसको यो १३औं गोल हो । उनले ५ असिस्ट समेत दिइसकेका छन् ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सुरुवाती दुई गोलमा असिस्ट दिएका बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे । रोड्रिगोलाई पेनाल्टी बक्समा फ्लोरिएन लेजिउनीले फउल गरेपछि प्राप्त पेनाल्टीमा बेन्जेमा चुकेनन् । यो सिजनको ला लिगामा बेन्जेमाको यो १८औं गोल हो । उनले ९ असिस्ट दिइसकेका छन् ।
यो जितसँगै रियलले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । रियलको २५ खेलबाट ५७ अंक पुगेको छ । एक खेल कम खेलेको सेभियाको ५० अंक छ । पराजित एलाभेस २० अंक जोडेर १९औं स्थानमा रहेको छ ।
अर्काे खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेआले गोल गरे ।
यो जितसँगै एट्लेटिको २५ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ओसासुना ३२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

