लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा सुरु भएको १५ वर्षभन्दा बढी भइसक्यो तर पनि यी दुई स्टार बीच उत्कृष्ट खेलाडी को हो भन्ने बहस अझै जारी छ। यो प्रश्नको लागि कसैसँग पनि उत्तम उत्तर छैन किनकि हरेक दिन हरेक सिजन यी दुई सुपरस्टारले आफूलाई उत्कृष्ट प्रमाणित गर्दै आएका छन्।

लिभरपुलका पूर्व स्ट्राइकर पिटर क्राउचको यस प्रश्नको जवाफ पुन: चर्चामा आएको छ र यो उत्तर यस बहसको लागि सम्भवतः उत्तम निष्कर्ष हुनसक्छ। २०१८ को अप्रिलमा डेली मेल कोलमका लागि आफ्नो कोलममा च्याम्पियन्स लिगमा युभेन्टस विरुद्ध रियल म्याड्रिडका लागि रोनाल्डोको प्रसिद्ध साइकल किक पछि, क्राउचले लेखे: “रोनाल्डो हार्ने विचारलाई मन पराउँदैन र म विश्वस्त छु कि बार्सिलोनाका लागि लियोनेल मेस्सीले के गर्छन्, रोनाल्डोलाई त्यसले असर गर्छ, उत्प्रेरित गर्छ। मेस्सीले एक रात अगाडी ह्याट्रिक गरेको र २४ घण्टापछि रोनाल्डोले गरेको कति पटक देखेका छौं? यो संयोग हुन सक्दैन।”

“मैले टिभीमा बाहेक डिएगो म्याराडोनाको खेल हेर्न पाइनँ। मैले योहान क्रुफ र पेलेका क्लिपहरू मात्र देखेको छु र अल्फ्रेडो डि स्टेफानो र फेरेन्क पुस्कासका उपलब्धिहरू पढेको छु। तर मेरो नजरमा भने मेस्सी र रोनाल्डो सर्वश्रेष्ठ खेलाडी हुन्,” उनले लेखेका छन्।

क्राउचले फ्यानहरूलाई को राम्रो छ भनेर बहस गर्नुको सट्टा दुई दिग्गजहरूको आनन्द लिन आग्रह गरेकाछन्। ४१ वर्षीयाले थपे: “वास्तवमा, को भन्दा को उत्कृष्ट भन्ने बहस अब रोक्नुपर्छ। हामीलाई थाहा छैन कि हामी उनीहरूलाई कति लामो समयसम्म देख्न पाउने छौं। यस्तोमा हामीले उनीहरुलाई एक सर्वश्रेष्ठ र अर्को दोस्रो उत्कृष्ट बनाउने प्रयास गर्नु भन्दा खेलको आनन्द लिनुपर्छ।”

