एजेन्सी – यसै विन्टरमा इंग्लिस क्लब आर्सनलबाट आएका गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको ह्याट्रिक सहयोगमा क्याटलान क्लब बार्सिलोनाले सानदार जित दर्ता गरेको छ ।
बार्सिलोनाले घरेलु टोली भ्यालेन्सियामाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो । भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनाको फराकिलो जितको एक गोल फ्रान्की डि जोङको नाममा रहँदा घरेलु टोलीका कार्लाेस सोलेरले एक गोल फर्काए ।
खेलको २३औं मिनेटमा औवामियाङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गरेका थिए । ३२औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
३८औं मिनेटमा औवामियाङले पाब्लो गाभीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अघि बढेको थियो । ४१औं मिनेटमा कार्लाेस सोलेरले गोल गरेपनि गोलले भिएआरबाट मान्यता पाएन ।
५२औं मिनेटमा सोलेरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए । तर, ६३औं मिनेटमा औवामियाङले ह्याट्रिक पूरा गर्दै बार्सिलोनाको फराकिलो जित पक्का गरे ।
यसै विन्टरमा फ्रि ट्रान्सफरमा बार्सिलोना आएका औवामियाङले बार्सिलोनाका लागि चौथो खेल खेल्दा पहिलो गोलसँगै पहिलो ह्याट्रिक गर्न सफल भएका हुन् । उनले बार्सिलोनाका लागि ला लिगामा ३ तथा च्याम्पियन्स लिगमा एक खेल खेलेका छन् ।
यो जितसँगै बार्सिलोना २४ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ४२ अंक नै रहेपनि बार्सिलोनाले गोल अन्तरमा एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिडलाई पछि पारेको छ । बार्सिलोना एक खेल बढी खेलेको तेस्रो स्थानमा रहेको रियल बेटिससँग ४ अंकले पछि छ । पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

