एजेन्सी – गोलको वर्षा भएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको हो ।
एलान्ड रोड लिड्समा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडको जितमा ह्यारी मगाएर, ब्रुनो फर्नान्डेस, फ्रेड र एन्थोनी इलांगाले समान एक गोल गरे । घरेलु टोलीका रोड्रिगो र राफिन्हाले गोल गरेपनि हार टार्न सकेन ।
खेलको ३४औं मिनेटमा ह्यारी मगाएरको गोलबाट म्यानचेस्टर युनाइटेडले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको सुरुमै घरेलु टोलीले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । तर, युनाइटेडले पुनः दुई गोल थप्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाए ।
५३औं मिनेटमा रोड्रिगोले जुनियर फिर्पाेको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । लगत्तै ५४औं मिनेटमा ड्यानियल जेम्सको पासमा राफिन्हाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
तर, त्यो बराबरीलाई लिड्सले रोक्न सकेन । ७०औं मिनेटमा फ्रेडले जेडान सान्चोको पासमा गोल गर्दै युनाइटेडलाई ३–२ ले अघि बढाए । ८८औं मिनेटमा ब्रुनोको पासमा एन्थोनी इलांगाले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।
यो जितसँगै युनाइटेड २६ खेलबाट ४६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित लिड्स २४ खेलबाट २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा वल्भ्सले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । वल्भ्सको जितमा रुवेन नेभेस र ड्यानियल पोडेन्सले गोल गर्दा लेस्टरका एडेमोला लुकमानले एक गोल फर्काए ।
यो जितसँगै २४ खेलबाट ४० अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित लेस्टर सिटी २३ खेलबाट २७ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

