एजेन्सी – बार्सिलोनाका प्रबन्धक जाभी हर्नान्डेज पेड्रिको खुलेर प्रशंसा गरेका छन्। भ्यालेन्सिया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जाभीले पेड्रिको खुलेर प्रशंसा गरेका हुन्।
आइतबार राति बार्सिलोनाले लालिगा अन्तर्गतको खेलमा भ्यालेन्सियामाथि ४–१ को फराकिलो जित निकाल्यो। सो खेलमा जाभीले पेड्रिलाई दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
पेड्रि खेलको ६० औं मिनेटमा गाभीको स्थानमा मैदान प्रवेश गरे लगतै खेलमा उनको प्रभाव देखिएको थियो। पेड्रिको असिस्टमा नै पिएरे इमरिक औवामियाङको ह्याट्रिक पूरा भएको थियो।
जाभीले के भने ?
जाभीले पेड्रि उत्कृष्ट रहेको बताए। टाइमिङका हिसाबले पेड्रि विश्वकै उत्कृष्ट रहेको जाभीको भनाई छ। पेड्रि आफ्नो पोजिसनका सबै भन्दा उत्कृष्ट खेलाडी भइसकेको जाभीले बताए। पेड्रि बार्सिलोनामा हुनु धेरै राम्रो कुरा रहेको जाभीको भनाई छ।
“पेड्रि उत्कृष्ट छ्न्। उनी जे गर्छन् धेरै राम्रो गर्छन्। टाइमिङको हिसाबले उनी जति राम्रो कोहि पनि छैन। उनको पोजिसनमा उनी नै सबै भन्दा उत्कृष्ट हुन्। हाम्रो टीममा उनी हुनु धेरै राम्रो कुरा हो। पेड्रि भन्दा ठूलो प्रतिभा संसारमा कोही छैन। हामीले उनको ख्याल राख्नुपर्छ।”,जाभीले भने।

