एजेन्सी – यसै सिजन लोनमा क्याटलान क्लब बार्सिलोनाबाट एट्लेटिको मड्रिडका पुगेका स्ट्राइकर एन्टोइन ग्रिजम्यान बार्सिलोना फर्किने सम्भावना बढेको छ। क्लबका प्रशिक्षक डिएगो सिमोनी क्लब छाड्ने सम्भावना बढेसँगै ग्रिजम्यान बार्सिलोना फिर्ता हुने सम्भावना बढेको हो।
ग्रिजम्यानलाई सन् २०१९ मा १ सय २० मिलियन युरोमा बार्सिलोनाले किनेको थियो। एट्लेटिकोमा हुँदा धेरै राम्रो लयमा रहेका उनले बार्सिलोनामा भने त्यस्तो कमाल गर्न सकेनन्। बार्सिलोनामा उनको दुई वर्षे बसाई निराशजनक रह्यो। यसै सिजन बार्सिलोनाले उनलाई लोनमा एट्लेटिको पठाएको थियो।
लोनमा एट्लेटिको फिर्ता भएपछि उनले यस सिजन २२ खेल खेलेका छन्। जसमध्ये १६ खेल उनले लालिगामा खेल्दा ५ खेल च्याम्पियन्स लिगमा खेलेका छन्। यसबीचमा उनले मात्रै ८ गोल गरेका छन् भने ३ असिस्ट दिएका छन्।
सिमोनीले एट्लेटिको छाड्न सक्ने
लामो समय देखि एट्लेटिकोलाई सम्हालिरहेका सिमोनीले आउने समरमा क्लब छाड्न सक्ने स्पेनिस मिडियाहरु बताउँछन्। जारी सिजनमा एट्लेटिकोको कम्जोर प्रदर्शनसँगै सिमोनीले क्लब छाड्ने सम्भावना बढेको हो। क्लबले ग्रिजम्यानलाई सिमोनीको आग्रहमै फिर्ता ल्याएको थियो। तर अब यदि सिमोनीले क्लब छाडेको खण्डमा ग्रिजम्यान बार्सिलोना फिर्ता हुनेछन्।
त्यस्तै सिमोनीले एट्लेटिकोमै रहेको खण्डमा पनि ग्रिजम्यान त्यहाँ रहने कम सम्भावना देखिन्छ। महँगो पारिश्रमिक लिने र कम्जोर प्रदर्शन गर्ने ग्रिजम्यानलाई एट्लेटिकोले पक्कै पनि राख्न चाहने छैन।

