एजेन्सी – बार्सिलोनाका पूर्व विङ्गर लोबो कारास्कोले बार्सिलोनाका स्ट्राइकर पिएरे इमरिक औवामियाङ बोरुसिया डर्टमण्डका स्टार एर्लिङ हालाण्ड भन्दा उत्कृष्ट रहेको बताएका छन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा कारास्कोले औवामियाङ हालाण्ड भन्दा उत्कृष्ट रहेको बताएका हुन्। हालाण्डसँग धेरै क्षमता रहेपनि हालको अवस्थामा औवामियाङ धेरै राम्रो खेलिरहेको कारास्कोको भनाई छ।
“औवामियाङ उत्कृष्ट फर्ममा छन्। अहिले बार्सिलोनामा म औवामियाङलाई हालाण्ड भन्दा माथि राख्छु। मलाई हालाण्ड धेरै मन पर्छ र उनीमा धेरै क्षमता छ। तर पनि म हालाण्ड भन्दा माथि औवामियाङलाई राख्छु।”,कारास्कोले भने।
कारास्कोले लालिगामा हालाण्ड भन्दा औवामियाङ जम्न सक्ने बताए। उनका अनुसार हालाण्ड भन्दा बढी औवामियाङ लालिगामा चम्किन सक्ने सम्भावना छ। उनले भने,”हालको अवस्थालाई हेर्ने हो भने औवामियाङ लालिगामा धेरै चम्किन सक्ने देखिन्छ। त्यसैले लालिगाको परिपेक्ष्यमा म औवामियाङलाई रोज्छु।”
औवामियाङ जनवरी ट्रान्सफर विन्डोमा मात्रै बार्सिलोना आएका हुन्। आर्सनलका प्रशिक्षक तथा अधिकारीहरुसँग सम्बन्ध बिग्रिएपछि उनी बार्सिलोना आएका थिए। बार्सिलोना आएपछि उनले राम्रो प्रदर्शन गरिरहेका छन्।
आइतबार राति उनले बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरे। भ्यालेन्सिया विरुद्धको खेलमा औवामियाङले ह्याट्रिक गरेका थिए। औवामियाङले खेलको २३, ३८ र ६३ औं मिनेटमा गोल गरेका थिए।

