एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि म्यानचेस्टर युनाइटेडसँग रियल म्याड्रिडले प्रतिष्पर्धा गर्ने भएको छ। यसै सिजनको अन्त्यमा पिएसजी छाड्दै गरेका पोचेटिनोका लागि युनाइटेड र म्याड्रिडले प्रतिष्पर्धा गर्ने भएका हुन्।
पोचेटिनोका लागि रियल र युनाइटेड बीच प्रतिष्पर्धा हुने दावी स्पेनिस मिडियाहरु गरिरहेका छन्। उनीहरुले गरेको दावी अनुसार गएको सिजन नै रियलले पोचेटिनोलाई क्लबमा ल्याउन चाहेको थियो। तर पिएसजीको आकर्षक प्रस्तावमा पोचेटिनो सहमत भएपछि रियलको प्रयास असफल भएको थियो।
कार्लो एन्सेलोटीको भविष्य अनिश्चित
बताइएअनुसार, रियल म्याड्रिडले वर्तमान प्रशिक्षक कार्लो एन्सेलोटीलाई दिर्घकालिन प्रशिक्षकको रुपमा हेरेको छैन। कार्लो एन्सेलोटीलाई यस सिजनको अन्त्य सम्म मात्रै राख्ने रियलको योजना रहेको छ। नयाँ सिजन शुरु हुनु भन्दा अगाडी नै नयाँ प्रशिक्षकलाई क्लबको जिम्मेवारी दिन रियल चाहन्छ। यस्तोमा रियल अहिले देखि नै सम्भावित प्रशिक्षकको खोजिमा जुटिसकेको छ।
पिएसजीमा पोचेटिनो नरहने
पोचेटिनो यस सिजन पछि पिएस्जिनमा नरहने यस अगाडी नै स्पष्ट भइसकेको छ। पिएसजीका अधिकारी तथा खेलाडीहरुसँगको सम्बन्ध बिग्रिएका कारण उनी क्लब छाड्ने विचारमा छन्। पोचेटिनोले क्लब छाड्ने भएपछि उनलाई भित्र्याउने लाइनमा युनाइटेड लागि सकेको छ। अब सो लाइनमा रियल पनि जोडिने उच्च सम्भावना देखिन्छ।

