रोनाल्डोसँग थरर छ एट्लेटिको, सन् २०१९ मा लिएका थिए गज्जबको बदला ! [भिडियो]

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस च्याम्पियन्स एट्लेटिको म्याड्रिडको सामना गर्दैछ । अन्तिम १६ को पहिलो लेगमा युनाइटेडले एट्लेटिकोको घरेलु मैदानमा एट्लेटिकोको सामना गर्न लागेको हो ।

युनाइटेडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि एट्लेटिको नौलो प्रतिद्वन्दी होइन। रोनाल्डोले लालिगामा हुँदा कयौपटक एट्लेटिकोको सामना गरेका थिए। झन्डै १ दशक रियल म्याड्रिडमा रहँदा रोनाल्डोले एट्लेटिको विरुद्ध खेलेका थिए।

च्याम्पियन्स लिगमा रोनाल्डोले एट्लेटिकोको १० पटक सामना गरेका छन्। एट्लेटिकोसँग च्याम्पियन्स लिगमा भेट हुँदा ६ खेलमा जित निस्किएको छ भने २ खेल बराबरीमा टुंगिएको छ। च्याम्पियन्स लिगमा रोनाल्डोले एट्लेटिको विरुद्ध ७ गोल गर्दा ३ असिस्ट दिएका छन्।

पछिल्लो पटक च्याम्पियन्स लिगमा एट्लेटिकोसँग रोनाल्डोको सन् २०१९ मा भेट भएको थियो। त्यसबेला रोनाल्डो युभेन्टसमा थिए। अन्तिम १६ को पहिलो लेगमा एट्लेटिकोले युभेन्टसलाई २-०को गोल अन्तरले पराजित गरेको थियो। सो खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको थियो।

एट्लेटिकोसँग पराजित भएपछि त्यसबेला रोनाल्डोको धेरै नै आलोचना भएको थियो। तर सबै आलोचनालाई पछि पर्दै रोनाल्डोले दोस्रो लेगमा कमाल नै गरेका थिए। त्यसबेला रोनाल्डोले एट्लेटिको विरुद्ध ह्याट्रिक गरेका थिए। रोनाल्डोले लगातार दुई हेडर गोल गरेका थिए भने १ गोल पेनाल्टीमा गरेका थिए।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्यायो। क्वाटरफाइनलमा आयक्ससँग भेट हुँदा रोनाल्डोले दुवै लेगमा गोल त गरे, तर युभेन्टस समग्रमा ३-२ को गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिन पुगेको थियो।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१९:२८

युभेन्टसले अग्रता जोगाउन सकेन, भिल्लारियलसँग रोकियो !