काठमाडौँ – नक्कली जग्गा धनीपुर्जा देखाएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली जग्गा धनीपुर्जा देखाई बैना वापतको रकम ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेबी गाउँपालिका स्थायी घर भई हाल काठमाण्डौँको कपन बस्दै एक ३९ वर्षिय हित बहादुर बुढाथोकी रहेका छन्। उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
बुढाथोकीले रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाण्डौँको सोह्रखुट्टे बस्ने कृष्णमाया घिसिङसँग ३५ लाखमै साँखुको ८ आना जग्गा दिने भन्दै एक वर्ष अगाडी बैना लिएका थिए। उनले पटक-पटक गरी ३३ लाख रुपैयाँ लिएको पिडित पक्षको आरोप रहेको छ।
बुढाथोकी बैना बापतको ३३ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए। पैसा लिएर पनि जग्गा पास नगरिदिएपछि घिसिङ पिडित बनेकी थिइन्।
मालपोत कार्यालयमा गएर बुझ्दा आफूलाई देखाइएको लालपूर्जामा उल्लेखित जग्गा (कित्ता) अर्कैको नाममा घिसिङले थाहा पाएकी थिइन्। नक्कली धनीपुर्जा देखाएर ठगी गरिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्।
उजुरी पश्चात बुढाथोकीलाई बुधबार १० बजेर ४५ मिनेटमा कपनबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ। पक्राउ गरिएका बुढाथोकीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।