एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमारले अमेरिकामा खेल्ने चाहना रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा नेयमारले संयुक्त राज्य अमेरिकाको लिगमा खेल्ने चाहना रहेको बताएका हुन्।
नेयमारले फुटबलबाट सन्यास लिनु अगाडी अमेरिकी लिग एमएलएसमा खेल्ने बताए। ब्राजिलमा पुनः खेल्ने-नखेल्ने टुंगो नभएपनि अमेरिकामा गएर खेल्ने ठूलो चाहना रहेको नेयमारको भनाई छ।
फेनोमेनोस पोडकास्टमा नेयमारले भने,”मलाई थाहा छैन कि म फेरि ब्राजिलमा खेल्छु कि खेल्दिन। यसमा मलाई शंका छ। तर अमेरिकामा खेल्ने मेरो ठूलो चाहना छ।”
अमेरिकामा खेल्ने चाहना हुनुको कारण सोध्दा नेयमारले त्यहाँ खेलाडीले धेरै छुट्टी पाउने बताए। अमेरिकी लिग एमएलएसमा तीन महिना बिदा हुने हुँदा कम्तिमा एक सिजन त्यहाँ खेल्न चाहेको नेयमारले सुनाए।
“सबैभन्दा पहिला, त्यहाँ छोटा सिजन हुन्छन्। त्यसैले मैले तीन महिना छुट्टी पाउने छु। फुटबल छाड्नु अगाडी कम्तिमा एक सिजन त्यहाँ खेल्ने मेरो ठूलो चाहना छ।”,नेयमारले भने।
सो पोडकास्टमा नेयमारले सन्यास बारे आफूले केहि पनि योजना नबनाएको पनि जानकारी गराए। पिएसजीमा नेयमारको सम्झौता सन् २०२५ सम्मका लागि छ। कम्तिमा सन् २०२५ सम्मका लागि खेल्ने नेयमारको भनाई छ।