एजेन्सी – युरोपा लिग नक-आउट प्लेअफको दोस्रो लेगको खेलमा क्याटलान क्लब बार्सिलोनाले आज इटालियन क्लब नापोलीको सामना गर्दैछ। च्याम्पियन्स लिगको समूहचरणबाट बाहिरिएको बार्सिलोनाले युरोपा लिगको प्लेअफमा आज नापोलीको सामना गर्न लागेको हो। खेल नापोलीको घरेलु मैदानमा हुनेछ।
पहिलो खेल १-१ को बराबरीमा सकिएपछि आज जीत निकाल्ने टोली अर्को चरणमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
गएको केहि समय देखि बार्सिलोना राम्रो लयमा छ। जनवरी ट्रान्सफर विन्डोमा फेरान टोरेस, एडामा ट्राओरे र पिएरे एमरिक औवामियाङ जस्ता खेलाडी भित्र्याएपछि बार्सिलोनाको आक्रमणपङ्तीले गति पाएको छ। बार्सिलोनाले पछिल्लो खेलमा भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा ४-१ को फराकिलो जीत निकालेको थियो।
केहि समय अगाडी बार्सिलोनाले हाल च्याम्पियन्स लिगको अन्तिम १६ मा रहेको एट्लेटिको म्याड्रिडललाई समेत पराजित गरेको थियो। बार्सिलोना अहिले लालिगाको चौंथो स्थानमा रहेको छ।
त्यस्तै नापोली पनि जारी सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ। नापोली इटालियन सिरी ‘ए’को तेस्रो स्थानमा रहेको छ। बार्सिलोना र नापोली बीच युरोपेली प्रतियोगितामामा पछिल्लो पटक सन् २०१९-२० को च्याम्पियन्स लिगमा भएको थियो। अन्तिम १६ मा भेट हुँदा बार्सिलोनाले नापोलीलाई च्याम्पियन्स लिगबाट आउट गरेको थियो। बार्सिलोना र नापोली बीचको खेल भारतीय च्यानल सोनी टेन च्यानलमा हेर्न सकिनेछ।