एजेन्सी – ब्राजिलियन फरवार्ड फिलिपे काउटिन्होले लिभरपुल छाडेकोमा कुनै पछुतो नरहेको बताएका छन्। चार वर्ष अगाडी लिभरपुलबाट बार्सिलोना पुगेका काउटिन्होले लिभरपुल छाडेर बार्सिलोना गएकोमा आफूलाई कुनै पछुतो नरहेको बताएका हुन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा काउटिन्होले लिभरपुलका लागि धेरै सम्मान र स्नेह रहेपनि बार्सिलोना पुगेकोमा कुनै पछुतो नरहेको बताए। बार्सिलोनाबाट खेल्ने आफ्नो सपनाक कारण आफूले लिभरपुल छाड्ने निर्णय लिएको उनको भनाई छ।
ईएसपीएन ब्राजिलसँग कुराकानी गर्नेक्रममा उनले भने,”लिभरपुलका लागि सधैं मेरो सम्मान र कृतज्ञता रहन्छ। त्यस समयमा मैले एक निर्णय लिनुपर्ने थियो। त्यो निर्णय लिएकोमा मलाई कुनै पछुतो छैन। बार्सिलोनाबाट खेल्ने मेरो ठूलो सपना थियो।”
सन् २०१३ मा लिभरपुल पुगेका काउटिन्हो सन् २०१८ मा लिभरपुल छाडेका थिए। बार्सिलोनाले उनलाई १ सय ४० मिलियन युरो भन्दा बढी रकम तिरेर भित्र्याएको थियो। उनले लिभरपुलमा हुँदा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। तर बार्सिलोना पुगेपछि भने उनी कहिले पनि पूरानो स्तरमा रहन सकेनन्।
हाल उनी अहिले प्रिमियर लिग फिर्ता भएका छन्। उनी लोनमा यसै वर्ष एस्टन भिल्ला पुगेका हुन्। बार्सिलोनामा कम्जोर प्रदर्शन गरेपनि भिल्लामा भने उनी राम्रो प्रदर्शन गरिरहका छन्।