एमसीसी विरुद्ध नेपाल बन्दको घोषणा !

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ६ राजनीतिक दल र दुई मोर्चाहरुले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ।

आइतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकले एमसीसी विरुद्ध नेपाल बन्द सहितका संघर्षका कार्यक्रम गर्ने घोषणा गरेका हुन्।

सो बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको बताएको छ। सरकारको यस कदम विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

“आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ ।”,विज्ञप्तिमा भनिएको छ।

६ दल र २ मोर्चाको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका सम्पूर्णको स्वास्थ्यलाभको कामना समेत गरेको छ। विज्ञप्तिमा भनिएको छ,”यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं ।”

६ दल र २ मोर्चाले सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रम यसप्रकार छन् –

१.फागुन १५ गते बेलुका देशव्यापी मशाल जुलुस ।
२.फागुन १६ गते सशक्त नेपाल बन्द ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१९:५०

एमसीसी पारित गर्ने दिन नेपाल ल्याइयो अमेरिकी साँढे !