लियोनल मेस्सीले अन्ततः पेरिस सेन्ट-जर्मेन (पीएसजी) को जर्सीमा आफ्नो उत्कृष्ट प्रदर्शनको झलक दिन सुरु गरेका छन्। अर्जेन्टिनी सुपरस्टार खेलाडी ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा बार्सिलोनाबाट फ्रान्सेली क्लबमा सामेल भएयता जारी सिजन हालसम्म उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्।

पीएसजीले शनिबार राति पार्क डेस प्रिन्सेसमा सेन्ट-एटिनलाई ३-१ ले पराजित गर्न सफल भयो थियो जसमा मेस्सीको निकै आकर्षक खेल देख्न मिलेको थियो। ३४ वर्षीय पूर्व बार्सिलोना कप्तानले खेलमा दुई असिस्ट प्रदान गरेका थिए। एम्बाप्पेको गोलमा गरेको उनको असिस्ट अहिले निकै चर्चामा रहेको छ। उक्त असिस्टमा मेस्सीको नजर र पासको खुब तारिफ भइरहेको छ। अर्जेन्टिनी कप्तानको प्रदर्शनलाई घरेलु दर्शकले स्ट्यान्डीङ ओभेसन दिएका थिए।

क्लब प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलपछिको आफ्नो स्टार खेलाडीको खुलेर प्रशंसा गर्दै ७ पटकका ब्यालोन डी ओर विजेताको प्रदर्शन निकै उत्कृष्ट रहेको र उनी गोलको हकदार रहेको पनि दाबी गरेका थिए। योसँगै २०२२ मा अहिलेसम्म युरोपका प्रमुख पाँच लिगहरूमा कुनै पनि खेलाडीले मेस्सीभन्दा बढी असिस्ट प्रदान गरेका छैनन्। मेस्सीले नयाँ वर्ष लागेदेखि कुल पाँच असिस्ट प्रदान गरिसकेका छन्।

र यो सिजनको सबैभन्दा निर्णायक समय सुरु भएपछि आएको छ। पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडको सामना मार्च १० मा उनकै मैदान सान्टियागो बर्नाबेउमा गर्नेछ। रियलको स्टेडियममा मेस्सीको तथ्यांक निकै उत्कृष्ट रहेको छ। रियल म्याड्रिडको घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने विपक्षी खेलाडी हुन् मेस्सी। जसको कारण पनि पहिलो लेगमा पेनाल्टी मिस गरेता पनि दोस्रो लेगमा मेस्सीको उत्कृष्ट प्रदर्शनको आशा गर्न सकिन्छ।

