केही रिपोर्टका अनुसार लस एन्जलस ग्यालेक्सीले सर्जियो रामोसलाई पेरिस सेन्ट-जर्मेन (पीएसजी) बाट बाहिर निस्किने मार्ग प्रस्ताव गर्न इच्छुक रहेको छ। गत समरमा रियल म्याड्रिडबाट पेरिस क्लबसँग आवद्ध भएका स्पेनिस डिफेन्डर लगातार चोटसँग संघर्ष गर्दै आएका छन्।

एक दशक भन्दा बढी समय स्पेनिस महारथीसँग बिताएपछि पीएसजी पुगेका रामोसले माउरिसियो पोचेटिनोको टोलीका लागि मात्र ५ खेल खेल्न सफल भएका छन्। सिजनको सुरुमा चोट कै कारण ३५ वर्षीय खेलाडीले लिग १ क्लबका लागि डेब्यू गर्न नोभेम्बरसम्म कुर्नुपर्यो। यस्तोमा, फ्रान्सका पूर्व डिफेन्डर एलेन रोचेले रामोसलाई “असफल बाजी” भनेर वर्णन गरे।

काफ समस्या कै कारण उनी सेन्ट-इटिएन विरुद्धको पीएसजीको अन्तिम लिग खेल अनुपस्थित रहेका थिए। तर फ्रान्सका केही रिपोर्टहरूका अनुसार एलए ग्यालेक्सी चोटको रेकर्डलाई नजर-अन्दाज गर्दै पूरा म्याड्रिड कप्तानलाई फ्रान्सेली दुःस्वप्नबाट बाहिर निस्कने बाटो प्रस्ताव गर्नसक्छ। एमएलएसले आफ्ना क्लबहरूलाई लिगको तलब क्याप भन्दा बढी पैसा कमाउन सक्ने अधिकतम तीन ‘डेजिनेटेड प्लेयर्स (DPs)’ लाई अनुमति दिएको छ।

२०२१ को अन्त्यमा मेक्सिकोका अन्तर्राष्ट्रिय जोनाथन डोस सान्तोसको बहिर्गमनलेव ग्यालेक्सीको एक यस्तो स्थान खाली गरेको छ, जसमा अन्य दुई खेलाडीका रूपमा हाल फ्रान्सेली युवा केभिन काब्राल र म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर जेभियर हर्नान्डेजले रहेका छन्।

फुट मर्काटोका अनुसार (फ्रेन्च फुटबल समाचार मार्फत), रामोस एलएको खाली तेस्रो स्थानका लागि दाबेदार रहेका छन्, जोसँग क्लबले कथित रूपमा सम्पर्क गरेको छ, र रामोस २०२३ मा आफ्नो पीएसजीसँगको सम्झौता समाप्त हुनु अघि नै एट्लान्टिक जान सक्छन्। यदि रामोस लस एन्जलससँग अनुबन्ध भएको खण्डमा भने उनले पेरिसमा गरेको भन्दा अधिक प्रभाव पार्ने आशा गर्न सकिन्छ।

उनले लिग १ मा चार खेल खेलेका छन्, जनवरीमा रेम्स विरुद्धको जितमा एक पटक गोल पनि गर्न सफल भए। र कूप डे फ्रान्समा पनि ४५ मिनेट खेले। रियल म्याड्रिडसँग ४ पटक च्याम्पियन्स लिग जितेका पूर्व सेभिल्ला स्टारले नयाँ क्लबका लागि भने च्याम्पियन्स लिगमा एक पनि खेल खेल्न सकेका छैनन्।

