ठूलो धर्मसंकटमा एम्बाप्पे ! के गर्लान् अब ?

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा युवा स्टार किलियन एम्बाप्पेको सम्झौता केहि समयका लागि मात्र छ। आउने ६ महिना भन्दा कम समयमा नै एम्बाप्पे फ्री एजेन्ट हुनेछन्।

सम्झौता सकिने समय आउँदै गर्दा पिएसजीले सम्झौता थप गर्न दबाव बढाउँदै लगेको छ। यस बीचमा पिएसजी एम्बाप्पेलाई कसरी क्लबमा अड्याउन सकिन्छ भन्ने रणनीति बनाउन लागिपरिसकेको छ।

फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीको सबै भन्दा प्रमुख प्राथमिकतामा अहिले एम्बाप्पेको सम्झौता छ। पिएसजीले एम्बाप्पेलाई फेब्रुअरीमा एक कीर्तिमानी सम्झौता प्रस्ताव गरेको फ्रेन्च मिडियाहरु बताउँछन्।

पिएसजीले एम्बाप्पेलाई साप्ताहिक १ मिलियन युरो भन्दा बढी पारिश्रमिक दिने प्रस्ताव गरेका छन्। त्यसको अलावा पिएसजीले एम्बाप्पे नै पिएसजीको योजनाको केन्द्रमा रहने स्पष्ट पनि पारेको फ्रेन्च मिडियाहरुको दावी छ।

पिएसजीले एम्बाप्पेका परिवारसँग समेत छलफल गरेको बताइन्छ। विश्वकप नजिकिरहेको अवस्थालाई समेत मध्यनजर गर्दै पिएसजीले एम्बाप्पेलाई क्लबमै रहन आग्रह गरेको छ। त्यसमा एम्बाप्पेका परिवार समेत सकारात्मक देखिएका छन्।

विश्वकप नजिकिएको अवस्थामा अन्यत्र जाँदा एम्बाप्पेलाई असहज हुने पिएसजीको तर्क रहेको छ। पिएसजीले छोटो समयका लागि सम्झौता प्रस्ताव गरेपछि एम्बाप्पे धर्मसंकटमा परेका छन्। एम्बाप्पेको एक तर्फ रियल म्याड्रिडबाट खेल्ने सपना छ भने अर्को तर्फ पिएसजीको आकर्षक प्रस्ताव छ।
विभिन्न अवस्थालाई ध्यानमा राखेर एम्बाप्पेले कम्तिमा एक सिजनका लागि सम्झौता थप गर्न सक्ने सम्भावना देखिएको फ्रेन्च मिडियाहरु बताउँछन्।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१९:५२

हालाण्ड र पोग्बा भित्र्याउन मरिहत्ते गर्दै बार्सिलोना, यी तीन खेलाडी माथि पनि नजर ! को-को ?