काठमाडौँ – फागुन महिना लागेपछि लगातार महँगो भइरहेको सुनको मूल्य आज पनि बढेको छ। साताको पहिलो दिन घटेर दोस्रो दिन बढी तेस्रो दिन घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन डेढ वर्षकै महँगो
पछिल्लो वृद्धिसँगै सुन झन्डै डेढ वर्ष यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य ५ सय ६० दिनकै महँगो हो। गत वर्ष भदौ ३ गते १ लाख ४ सय रुपैंयाँमा कारोबार भएतायता छापावाला सुन आजको जति मूल्यमा कहिले पनि कारोबार भएको छैन।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैंयाँमा कारोबार भैरहेको छ।