काठमाडौँ – संसद भवन अगाडी शंकास्पद वस्तु राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी सहयोग एमसीसी पारित भएको विरोधमा आइतबार भएको नेकपा बन्दका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा रहेको संसद भवन अगाडी शंकास्पद वस्तु राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे भुम्लो गाउँपालिका घर भई गौशाला बस्दै आएका २१ वर्षिय सुवास महत रहेका छन्। महतलाई गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
पक्राउ परेका महत अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष समेत रहेका छन्। प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको एफजेड मोटरसाईकल, कालो निलो रंगको फुल हेल्मेट, घटनामा लगाएको ट्रयाक ज्याकेट र विभिन्न कम्पनीका चार थान मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेका उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।