पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार किलियन एम्बाप्पेको नाम गत सिजनदेखि नै स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिदै आएको छ। १३ पटकको च्याम्पियन्स लिग विजेताले फ्रेन्च स्टारलाई भित्र्याउनको लागि एक भन्दा बढी पटक प्रस्ताव गर्यो तर रियल म्याड्रिडको हरेक प्रस्ताव पेरिस क्लबले अस्विकार गरेको थियो।

यस्तोमा थुप्रै रिपोर्टहरुका अनुसार एम्बाप्पे रियल म्याड्रिड आउने पक्का छ। करिम बेन्जेमा, ड्यानी कारभाजल र लुका मोड्रिच जस्ता स्पेनिस दिग्गजका धेरै खेलाडीहरूलाई यसअघि फ्रान्सेली सुपरस्टारको बारेमा सोधिएको थियो। सबै स्टारले एम्बाप्पेको प्रशंसा गरे तर रियल म्याड्रिड आउने बारे नबोल्नु नै उत्तम ठाने।

रियल म्याड्रिडका लिजेन्ड र कप्तान मार्सेलोको साथमा पनि यस्तै भयो। ब्राजिलियन लेफ्ट-ब्याकले स्पेनिस हास्य कलाकार पाब्लो मोटोसद्वारा आयोजित एन्टेना ३ शो ‘एल होर्मिगुएरो’ मा अन्तर्वार्ता दिए। उनलाई एमबाप्पे म्याड्रिडसँग अनुबन्ध हुने बारे सोधिएको थियो। च्याम्पियन्स लिगको दोस्रो लेगको खेल अघि फ्रान्सेली खेलाडी चोटिल हुन् भन्ने आफूलाई लागेको छ कि भनेर पनि उनलाई मजाकमा सोधिएको थियो।

मार्सेलोले भने: “म उनलाई म्याड्रिडमा देख्दिन किनभने मलाई भविष्य थाहा छैन। तपाईंले कसैको पनि नराम्रो कामना गर्नु हुँदैन। मलाई लाग्छ कि यदि हामीले जित्यौं भने हामीले यो आफ्नै लागि गर्नुपर्छ। खेलको भलाइका लागि सबै खेलाडीहरू त्यहाँ हुनुपर्छ। राम्रो टोलीले जितोस्।”

एम्बाप्पेको स्थानान्तरणको चर्चा हरेक हप्ता बढ्दै छ। धेरैले खेलाडी र रियल मड्रिडबीच पूर्व–सम्झौता भएको दाबी समेत गरेका छन्। जबकि, धेरैले रिपोर्ट गरेको दाबी अनुसार फ्रान्सेली स्टार पीएसजीसँग छोटो अवधिको सम्झौतामा हस्ताक्षर गर्न तयार छन्। यस्तोमा एम्बाप्पेको भविष्य बारे अब सिजनको अन्त्यसँगै थाहा हुने देखिन्छ।

