एजेन्सी – सब्सिच्युट फरवार्ड जेमी भार्डीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो ।
टर्फ मुर बर्नलेमा मंगलबार राति भएको खेलमा लेस्टरको जितमा सब्सिच्युट फरवार्ड जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे । चोटका कारण २ महिना मैदान रहेका स्टार खेलाडी जेमी भार्डी लेस्टरको जीतमा नायक बने। घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लेस्टरले गोलको लागि दोस्रो हाफमा सब्सिच्युट फरवार्डको साहरा लिनुपरेको थियो ।
८२औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए । ७२औं मिनेटमा युरी टिलेमान्सको स्थानमा मैदान छिरेका म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको जित पक्का गरे । ७२औं मिनेटमा पाटसन डाँकाको स्थानमा मैदान छिरेका भार्डीले हार्भे बार्नेसको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै लेस्टर २४ खेलबाट ३० अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । समान ३० अंक नै रहेपनि लेस्टर गोल अन्तरमा क्रिस्टल प्यालेसभन्दा पछि र एस्टन भिल्लाभन्दा अघि छ । क्रिस्टलले दुई तथा भिल्लाले एक खेल बढी खेलेको छ ।
लेस्टरसँगको हारसँगै बर्नलेलाई रेलिगेसन दवाव बढेको छ । बर्नले २५ खेलबाट २१ अंक जोडेर १८औं स्थानमा रहेको छ । बर्नलेभन्दा मुनि वाट्फोर्ड (१९) र नर्विच सिटी (१७) पछि रहेको छ ।

