एजेन्सी – फ्रान्सेली फुटबल पत्रकार नाबिल डिजेलिटले किलियन एम्बाप्पे ज्लाटन इब्राहिमोभिचको स्तरमा पुग्न बाँकी रहेको टिप्पणी गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा डिजेलिटले इब्राहिमोभिचको स्तरमा पुग्न एम्बाप्पे अझै केहि समय पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहनु पर्ने बताएका हुन्।
ले इक्विपसँग कुराकानी गर्नेक्रममा डिजेलिटले इब्राहिमोभिचको स्तरमा पुग्न एम्बाप्पेले थप समय पिएसजीमै रहेर मिहिनेत गर्नुपर्ने मात्र बताएनन्, पिएसजीमा हुँदै इब्राहिमोभिचले छुट्टै स्तरको खेल प्रदर्शन गरेको पनि बताए। इब्राहिमोभिचले पिएसजीलाई एकताबद्ध गरेको डिजेलिटको भनाई छ।
“ज्लाटन इब्राहिमोभिचको आगमनले पिएसजी एकताबद्ध र संरचित भएको थियो। क्लबको स्तरका लागि उनी बिल्कुल आधारभूत र असाधारण थिए। फ्रान्सेली च्याम्पियनशिपमा उनको धेरै ठूलो प्रभाव परेको थियो।”,डिजेलिटले भने।
डिजेलिटका अनुसार पिएसजीमा इब्राहिमोभिचले ठूलो प्रभाव पारेका थिए। इब्राहिमोभिचकै कारण पिएसजी युरोपियन फुटबलमा उदाएको डिजेलिटको बुझाई छ। च्याम्पियन्स लिगको विषयमा एम्बाप्पेले इब्राहिमोभिच भन्दा राम्रो गरिरहेपनि फुटबलको हिसाबले पिएसजी तर्फ सबैको ध्यान तानेको डिजेलिटले बताए।
उनले भने,”च्याम्पियन्स लिगको बारेमा छुट्टै कुरा होला। तर इब्राहिमोभिचलाई उछिन्न एम्बाप्पेले थप समय पिएसजीमा रहनु पर्ने हुन्छ। इब्राहिमोभिचकै कारण पिएसजीमा धेरैको ध्यान तानिएको थियो। उनी नभएको भए अहिले राम्रा खेलाडीहरु पिएसजीमा हुँदैनथे।”
ज्लाटनलाई एम्बाप्पेले भेट्टाए
एम्बाप्पेले ज्लाटन इब्राहिमोभिचलाई पिएसजी गोलमा भेट्टाएका छन्। शनिबार राति सेन्ट इटिएन विरुद्धको गोलमा दुई गोल गरेसँगै एम्बाप्पेले पिएसजी गोल संख्यामा इब्राहिमोभिचसँग बराबरी गरेका हुन्। एम्बाप्पेको गोल संख्या १ सय ५६ पुगेको छ। इब्राहिमोभिचले पनि पिएसजीका लागि १ सय ५६ गोल नै गरेका छन्।

