एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल जारी सिजनमा छुट्टै स्तरमा देखिएको छ। गत सिजन लगातार खेलाडी घाइते हुने समस्याका कारण कम्जोर बनेको लिभरपुल अहिले भने धेरै नै राम्रो लयमा छ।
सन् २०१९-२० को सिजन प्रिमियर लिग जितेयताकै उत्कृष्ट लयमा लिभरपुल छ। अहिले भन्ने हो भने प्रशिक्षक योर्गेन क्लोपसँग करियरकै उत्कृष्ट स्क्वाड छ। क्लोपले आफ्नो करियरमा सायदै यति उत्कृष्ट टोली पाएका थिए।
हालसालै लिभरपुलले युरोपियन च्याम्पियन चेल्सीलाई पराजित गर्दै कारवाओ कप जितेको लिभरपुल अझै तीन प्रतियोगितामा छ। लिभरपुलसँग अझै जित्नको लागि एफए कप, च्याम्पियन्स लिग र प्रिमियर लिग छन्।
तीनै प्रतियोगितामा लिभरपुल दाबेदार देखिएको छ। लिभरपुल प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा मात्रै ६ अंकले पछाडी छ। तर लिभरपुलसँग एक खेल अझै बाँकी छ। सिजनका एक दर्जन खेल खेल्न बाँकी रहेको अवस्थामा लिभरपुलले सिटीले भेट्टाउन सक्ने प्रशस्तै आधार छन्। लिभरपुलले सिटीसँग एक खेल खेल्न बाँकी छ। सो खेलमा जित निकाल्न सकेको खण्डमा लिभरपुलले प्रिमियर लिग जित्ने सम्भावना बढ्नेछ।
त्यस्तै लिभरपुल च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लिभरपुलले अन्तिम १६ को पहिलो लेगमा इन्टर मिलानलाई २-० को गोल अन्तरले पराजित गरिसकेको छ। घरेलु मैदानमा हुने च्याम्पियन्स लिगको दोस्रो लेगमा बराबरी मात्रै खेलेपनि लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्नेछ।
लिभरपुलले एफए कपको पाँचौ चरणमा तुलनात्मक रुपमा कम्जोर नर्विच सिटीको सामना गर्दैछ। सो खेलमा जित निकाल्न सकेको खण्डमा लिभरपुल एफए कपमा पनि रहनेछ।

