एक रिपोर्ट अनुसार, लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएदेखि पहिलो पटक पूर्व क्लब बार्सिलोनाको विपक्षमा मैदान उत्रिन सक्छन्। अर्जेन्टिनी सुपरस्टारले गत समरमा नि:शुल्क ट्रान्सफरमा क्याटलान क्लब छाडेर लिग १ क्लबमा सामेल भएका थिए जसले फुटबल जगतलाई चकित पारेको थियो।

स्पेनिस पत्रिका स्पोर्टका अनुसार बार्सिलोनाले जारी सिजनको अन्त्यमा अष्ट्रेलियामा एक वा दुई मैत्रीपूर्ण खेल खेल्ने सम्भावनाबारे छलफल गरिरहेको छ। रिपोर्टका अनुसार अझै धेरै विवरणहरू बाहिर आउन बाँकी रहेपनि बार्सिलोनाले आफ्नो आर्थिक स्थिति बलियो बनाउने प्रयासमा केही आकर्षक खेलहरू खेल्ने अवसर खोजिरहेको छ।

पीएसजीलाई पनि यस्तै प्रस्ताव आएको दाबी गरिएको छ जसको मतलब मेस्सीले आफ्नो पूर्व क्लबको सामना गर्नेछन्। म्यानचेस्टर युनाइटेड पनि आमन्त्रित सूचीमा छ, जसको अर्थ सात पटक बालोन डी’ओर विजेता आफ्ना चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोसँग पनि आमने सामने हुन सक्छन्।

फ्रेन्च क्लब पीएसजी र प्रिमियर लिग युनाइटेड दुबै प्रस्तावित मितिहरूको लागि आफ्नो उपलब्धता पुष्टि गर्नु अघि सिजन कसरी प्यान आउट हुन्छ भनेर पर्खिरहेको रिपोर्ट गरिएको छ।

