एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले भेटेरान डिफेन्डर सर्जियो रामोसलाई बिक्री गर्न सक्ने सम्भावना बढेको छ। पिएसजी गएयता फिट रहन संघर्षरत उनलाई पिएसजीले आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने सम्भावना बढेको हो।
विभिन्न संचार माध्यमहरुका अनुसार पिएसजीले रामोसलाई आउने ट्रान्सफर विन्डोमा युरोप बाहिर बिक्री गर्न सक्छ। पिएसजीले रामोसलाई अमेरिकन लिग पठाउन सक्ने बताइन्छ।
संयुक्त राज्य अमेरिकाको मेजर लिग सकर (एमएलएस) अन्तर्गतको एक क्लबमा रामोस जान सक्ने उच्च सम्भावना देखिएको मिडियाहरु बताउँछन् । हालको अवस्थामा रामोसलाई एलए ग्यालेक्सीले चासो देखाइरहेको छ। सबै राम्रो गएको खण्डमा रामोसलाई लिएर पिएसजी र ग्यालेक्सी बीच एक समझदारी हुन सक्छ।
यसै सिजन लालिगा क्लब रियल म्याड्रिडबाट पिएसजी पुगेका रामोस फिट हुन सकिरहेका छैनन्। उनलाई शरीरले साथ दिरहेको छैन। पटक-पटक घाइते हुँदा उनले पिएसजी गएको ६ महिना भन्दा बढी समयमा मात्रै ५ खेल खेलेका छन्।
सिजनको शुरुवातमै घाइते भएर कयौं महिना मैदानबाट बाहिर रहेका उनी अहिले पनि मैदान बाहिर छन्। रामोसले पिएसजी आएयता कमै मात्र मैदानमा उत्रिन पाए उनले अहिले सम्म पिएसजीका लागि च्याम्पियन्स लिग डेब्यू गर्न समेत पाएका छैनन्।
रामोस पछिल्लो पटक च्याम्पियन्स लिगमा रियलको सामना गर्नु अगाडी नै घाइते भएका थिए। र उनले एक हप्ता भन्दा कम समयमा हुने रियल विरुद्धको दोस्रो लेग पनि गुमाउने उच्च सम्भावना छ।

