बायर्न म्युनिखका पूर्व स्टार जे रोबर्टोले क्रिस्टियानो रोनाल्डो आफ्नो उत्कृष्ट करियरको अन्तिम वर्षमा रहेको विश्वास गरेका छन्। ४७ वर्षीय ब्राजिलियनले पछिल्ला केहि समयमा रोनाल्डो जस्तो जितको भोक भएका व्यक्तिका लागि आशा गरेजस्तो सहज यात्रा नभएको बताए।

रोनाल्डोले युभेन्टस र म्यानचेस्टर युनाइटेडसँग केही कठिन सिजनहरू बिताएका छन्, जसले उनलाई अब निकट भविष्यमा नै सन्यास लिन प्ररित गर्न सक्छ।

स्काई स्पोर्ट्ससँग कुरा गर्दै, जे रोबर्टोले भने: “क्रिस्टियानो, मेरो लागि, एक मेसिन हो। तर मलाई लाग्दैन कि उनी अझै ४० वर्षसम्म खेल्ने सोचमा छन् किनभने उनी सधैं उच्च स्तरमा खेलेका, सधैं ट्रफी जित्ने र सधैं विश्वको उत्कृष्ट खेलाडी बन्ने प्रयास गर्ने खेलाडी हुन्। तर पछिल्लो दुई वर्षमा हामीले देखेका छौं कि उनले युभेन्टस र अहिले म्यानचेस्टर युनाइटेडसँग त्यो गर्न सकेका छैनन्।”

उनले थपे, “यसको सबैभन्दा राम्रो प्रमाण यो हो कि उनी ठूला व्यक्तिगत पुरस्कारहरूका लागि शीर्ष दुई वा तीन खेलाडीहरू मध्ये परेका छैनन्। उनी अझै पनि निकै महँगा खेलाडी हुन्, तर यस्तो उच्च स्तरमा प्रतिस्पर्धा गर्ने बानी भएको व्यक्तिका लागि त्यो समय आउनेछ जब उनी उच्च स्तरमा नै समाप्त गर्ने निर्णय गर्नेछन्।”

