एजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी)का डिफेन्डर मार्किन्होसले लियोनेल मेस्सी फ्रान्समा सन्तुष्ट रहेको बताएका छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मार्किन्होसले मेस्सी पिएसजीमा खुशी र सन्तुष्ट रहेको बताएका हुन्।
आरएमसी स्पोर्टसँग कुराकानी गर्दै मार्किन्होसले मेस्सी चुपचाप अगाडि बढिरहेका बताए। मेस्सी दिन प्रतिदिन पिएसजीमा सहज महसुस गर्दै गएको मार्किन्होसको भनाई छ। मार्किन्होसका अनुसार मेस्सी प्रशिक्षणका क्रममा पनि सहज महसुस गरिरहेका छन्। त्यसक्रममा उनले मेस्सीका लागि धेरै चीजहरू परिवर्तन भएको बताउन भने छुटाएनन्।
“उनको लागि धेरै चीजहरू परिवर्तन भएका छन्। तर पनि हामी देख्छौं कि उनी चुपचाप अगाडि बढिरहेका छन्। हालको अवस्थामा मलाई यो महसुस भइरहेको छ। उनी खुसी छन्। अहिले उनी प्रशिक्षणमा मात्र नभई खेलका क्रममा पनि सहज भइरहेका छन्। टोलीका सहकर्मी बीच पनि उनको समझदारी बढिरहेको छ।”,मार्किन्होसले भने।
यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न नसकेका कारण आलोचनाको केन्द्रमा रहँदै आएका छन्। फ्रेन्च लिग वानमा मेस्सीले १६ खेल खेल्दा मात्रै २ गोल गरेका छन्। तर असिस्टको मामलामा भने मेस्सी धेरै राम्रो गरिरहेका छन्। मेस्सीले अहिले सम्म ११ असिस्ट दिसकेका छन्।

