काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरेको भन्दै नेताहरूले प्रश्नसमेत उठाएका छन् । चार जना नेताले लिखित रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गत पुसमा सम्पन्न पार्टीको महाधिवेशनले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको भए पनि पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ताको तस्तै पास गरेको भन्दै दाहालसँग जवाफ मागेका छन् । महाधिवेशनको निर्णयविपरीत जस्ताको त्यस्तै एमसीसी किन पारित गर्नमा सहमति गरिएको बैठकलाई स्पष्ट जवाफ दिनुपर्ने माग उनले गरे ।
‘अध्यक्ष कमरेडले पार्टी छोडेर जा भनेर भन्नुहुन्थ्यो, त्यो कसरी र किन भन्नुभयो मलाई थाहा छैन’ बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरियो ? एमसीसीका विषयमा मैले असहमति राखेको छु । त्यो व्याख्यात्मक घोषणा संशोधन नभई जस्ताको त्यस्तै पारित हो ।’
एमसीसी संसद्बाट गत आइतबार पारित गरेपछि नेता श्रेष्ठले सो दिनलाई कालो दिनका रूपमा रहेको टिप्पणी गरेपछि अध्यक्ष दाहालले पार्टी छोडेर गए आफूले नरोक्ने आक्रोश व्यक्त गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको टिप्पणीसमेत गरेका छन् । अध्यक्ष दाहालले पार्टी छाडेर गए आफूले नरोक्ने भन्दै पार्टी छोडे छोड भन्ने शैलीमा टिप्पणी गरेपछि उनले आक्रोश व्यक्त गरेका छन् ।
यस्तै बैठकमा चार जना नेताले लिखित रूपमै असहमति दर्ज गराएका छन् । माओवादी केन्द्रका नेता देव गुरुङ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती सम्झौता पारित गरिएको भन्दै लिखित रूपमै आफ्नो असहमति दर्ज गराएका हुन् ।