
बुद्धि आउने समयमा युवावस्थामा आउने भएकाले यसलाई बुद्धि बंगारा नाम दिएको हुनसक्छ । तर, यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो । बुद्धि बंगारा निकाल्दा बुद्धि जान्छ, दिमागमा असर पर्छ भन्ने कुरा सरासर गलत बुद्धि बंगारा निकाल्दा बुद्धि जाने वा दिमागमा असर पर्ने केही पनि हुँदैन । दक्ष र अनुभवी चिकित्सकसँग यो दाँत निकाल्दा र दिएको सल्लाहको उचित पालना गर्दा कुनै पनि समस्या आउँदैन ।
करिब १७/२३ वर्षको उमेरमा मुखको सबैभन्दा कुनामा चार वटासम्म बुद्धि बंगारा निस्किन सक्छ । हरेक कुनामा निस्किने तेस्रो बंगारालाई किन बुद्धि बंगारा भनियो भन्ने कुनै ठोस कारण नभए पनि मान्छे अलि परिपक्क भएपछि मुखमा देखिने भएकाले हुनसक्छ । तर बुद्धि बंगाराको बारेमा आमजनमानसमा धेरै नै भ्रम फैलिएको भेटिन्छ । विना कुनै तर्क र तथ्य हामी यी कुराको पछि लागिरहेको हुन्छौँ र अनावश्यक दुःखाइ सहिरहेका हुन्छौँ ।
हिजोआज बुद्धि बंगारा कहिलेकाहीँ हड्डीमा अड्कने गरेका कारण दुःखाइको समस्या उत्पन्न हुन्छ । पहिलेका मान्छेहरूले काँचो र नपकाएको खानेकुराहरू धेरै खाने गर्थे, फास्ट–फुडको सिस्टम थिएन । यी काँचो र नपकाएको कुराहरू चपाउन धेरै बल लगाउनु पथ्र्यो । यसकारण, उनीहरूको मुखको हड्डीहरू पनि अलि बढी विकसित र ठूलो हुने गथ्र्यो । ठुलो हड्डीमा ३२ ओटा नै दाँत अटाउन प्रर्याप्त ठाउँ पुग्थ्यो । तर, आजकल हामीले खानेकुराहरू पहिले नै मज्जाले पाकेका हुन्छन् । मकै भटमासजस्ता खानेकुराहरू त्यति खाइँदैन तसर्थ चपाउन त्यति धेरै बल लगाउनुपर्ने पनि हुँदैन । यसकारण, हाम्रा मुखका हड्डीहरू बिस्तारै सानो बन्दैछन् र पहिले जस्तो ३२ ओटा दाँत अट्न सक्ने ठाउँ पनि हुँदैन । आउने दाँत ३२ ओटा नै भए पनि ठाउँ भने अपुग भएकाले सो दाँत हड्डीमै अड्किने, बांगो–टिंगो गरी आएर गाला–जिब्रोमा घाउ बनाउने र कतिपय बेला त हड्डी भित्रै ‘सिस्ट’ बन्न जाने पनि हुन्छ ।
बुद्धि आउने समयमा युवावस्थामा आउने भएकाले यसलाई बुद्धि बंगारा नाम दिएको हुनसक्छ । तर, यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो । बुद्धि बंगारको काम केही हुँदैन । मानिसलाई दुःख मात्र दिन्छ । पछिल्लो समय यसलाई फाल्ने चलन बढ्दै गएको छ । विदेशमा धेरै ठाउँमा पहिलेदेखि नै फाल्ने गरिन्छ । तर, नेपालमा यो दाँत फाल्नु हुँदैन भन्ने मान्यता छ । स्वदेशमा चिकित्सकको सल्लाह नमान्नेहरू विदेशबाट फर्किएर बंगारा फाल्नेहरूको संख्या बढ्दै गएको छ । यो दाँतले अति दुःख दिए मात्रै डाक्टरसमक्ष जाने चलन नेपालीमा छ । यो बंगारा फाल्दा कुनै समस्या हुँदैन । बुद्धि बंगारा ढुक्क भएर फाल्दा हुन्छ ।
धेरैजसो तलको बुद्धि बंगाराहरू हड्डीमा अड्किने गर्छन् भने माथिका बुद्धि बंगाराहरू बांगो टिंगो निस्किने गर्छन । मुखमा निस्किनु अगाडि दाँतलाई गिजाले छोपेको हुन्छ । निस्किने क्रममा दाँतले गिजाको कमजोर भागलाई छेडेर बिस्तारै निस्किँदै जान्छ । तर, प्रयाप्त ठाउँ नहुनाको कारण थोरै मात्र दाँत मुखमा देखिन्छ र गिजाको एउटा भागले दाँतलाई सधैँ छोपी नै रहन्छ । यसरी गिजा र ननिस्किएको दाँतको बिचमा खानाहरू अड्किने ठाउँ बनिरहन्छ । कुना भएकाले राम्ररी सफा गर्न नसकिने र प्रयाप्त अड्किएका खानेकुराहरू हुनाले ब्याक्टेरिया यो ठाउँमा धेरै फस्टाउँछन् र सो दाँत वरिपरि इन्फेक्सन हुन जान्छ । यसकारण, त्यो ठाउँ वरपर र अनुहार नै सुन्निने, मुख नै खोल्न नमिल्ने, दुख्ने, पिप बग्ने, मुख गनाउने जस्तो लक्षणहरू देखापर्छ । बुद्धि बंगारा अड्किनुको पछाडि एउटा मात्र मुख्य कारण हुन्छ, दाँत आउने प्रयाप्त ठाउँ । ठाउँ प्रयाप्त छ भने हड्डीमा अड्किने सम्भावना पनि कम हुन्छ ।
बुद्धि बंगाराले के के समस्या ल्याउन सक्छ ? भन्ने कुरामा जानकारी राख्नु आवश्यक छ । बुद्धि बंगारा आफैंले समस्या ल्याउने भन्दा पनि सो भाग राम्रोसँग सफा हुन नसक्ने भएकाले इन्फेक्सन भएर समस्याहरू आउने हुन् । धेरैजसो बिरामीहरूमा चाहिँ बुद्धि बंगारा वरिपरिको गिजा सुन्निने, सहनै नसकिने दुःखाइ हुने, मुख खोल्न गाह्रो हुने, मुख गन्हाउने, पिप बग्नेजस्ता लक्षणहरू देखिन्छन् । समयमै उपचार भएन भने यो इन्फेक्सन मुख र अनुहारका विभिन्न स्पेसमा सरेर मुख नै नखुल्ने, अनुहार सुन्निने, सास फेर्न गाह्रो हुने हँुदै जान्छ र मेडिकल इमर्जेन्सी अवस्था आउन सक्छ । समयमा दक्ष विशेषज्ञबाट उपचार नपाएमा ५–२५ प्रतिशत बिरामीमा मृत्यु पनि हुन सक्छ ।
त्यस्तै, हड्डीमा अड्किएको बुद्धि बंगाराले विभिन्न किसिमका सिस्ट बनाउने पनि गर्नसक्छ । यसरी बनेका सिस्ट एकदम आक्रामक किसिमका हुने गर्छन र बिस्तारै भित्रभित्रै मुखको हड्डी खियाउने गर्छन । यसो हुँदै जाँदा हड्डीहरू कमजोर हुने र आफैं भाँचिने समस्या पनि आउन सक्छ । कहिलेकाहीँ बांगो–टिंगो गरी आएका बुद्धि बंगाराले गाला–जिब्रोमा निरन्तर कोप्ने, घाउ बनाउने पनि गर्नसक्छ । मुखमा आफ्नै ठाउँमा पुरा निस्किएको, टोकाइमा आएको र अन्य कुनै उपचारलाई सहयोग पुग्ने खण्डमा बाहेक बुद्धि बंगारालाई दक्ष दन्त चिकित्सक कहाँ गई सल्लाह बमोजिम निकाल्दा नै ठीक हुन्छ ।
यो दाँत निकाल्ने कसरी ? भन्ने कुरामा सावधानी अपनाउनु जरुरी छ । जथाभावी निकाल्नु हुँदैन । दाँतलाई कसरी निकालिन्छ भन्ने धेरै कुराहरूमा दन्त्य चिकित्सकलाई मात्रै थाह हुन्छ । जस्तै; दाँत अड्केको प्रकार, जराको किसिम र लम्बाइ, मुखको खुलाइ, बिरामीको उमेर, चिकित्सकको दक्षता इत्यादि । सामान्य केसहरूमा अरू दाँत निकाले जसरी नै यो दाँत पनि निकालिन्छ भने जटिलता बढ्दै जाँदा वरिपरिको गिजा र केही हड्डी हटाएर समान्य शल्यक्रिया गरी निकाल्नुपर्ने पनि हुन सक्छ । बुद्धि बंगारा निकाल्दा बुद्धि जान्छ, दिमागमा असर पर्छ भन्ने कुरा सरासर गलत हो । बुद्धि बंगारा निकाल्दा बुद्धि जाने वा दिमागमा असर पर्ने केही पनि हुँदैन । दक्ष र अनुभवी चिकित्सकसँग यो दाँत निकाल्दा र दिएको सल्लाहको उचित पालना गर्दा कुनै पनि समस्या आउँदैन ।
बुद्धि बंगारा निकाल्न खासै ठूलो खर्च लाग्दैन चिकित्सकको दक्षता, क्लिनिक, समानको निर्मलीकरणको विधि, दाँतको जटिलता, समय, टाँका आदि कुरामा खर्च भर पर्छ । सामान्यतया २ हजार ५ सय देखि १० हजार आसपासको खर्च लग्न सक्छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दक्ष र अनुभवी दन्त चिकित्सकसँग निकाल्न सकिन्छ । केसको जटिलता हेरेर ‘ओराल सर्जन’ सँग परामर्श लिन पनि सकिन्छ । अलिकति कम पैसाको लागि जो कोहीसँग काम गराउँदा नचाहिँदो दुःख पाइन्छ भने तपाईंको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्छ ।
अतः बुद्धि बंगारा र यसले ल्याउन सक्ने समस्या धेरै जटिल हुन्छन् । बेलैमा दक्ष–अनुभवी दन्त चिकित्सकसँग उपचार गराउनु नै बुद्धिमानी हुन्छ ।
(लेखक पिस डेन्टल केयर प्रालि भरतपुर–१० चितवनमा कार्यरत छन्)

