काठमाडौं । इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम व्यवसायीले १५ दिनको अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छन । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको प्रतिनिधित्व हुने गरि गठन भएको पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले भाडा नबढाए ढुवानी रोक्ने चेतावनी दिएका हुन । १५ दिन भित्र माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले जानकारी दिएका छन । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
१५ दिनपछि पनि सरकारले नयाँ मूल्यअनुसार कमिसन नदिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए । यो भन्दा अघि कमिसन वृद्धि नगरेको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरूले इन्धन खरिद बन्द गरेपछि आपूर्ति संयन्त्रमा समस्या देखिएको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पनि आफूहरूको कमिसन भने नबढाएको पेट्रोलियम बिक्रेतारुको जिकिर छ ।
व्यवसायीहरूले मूल्यवृद्धिको आधारमा ३.१४ प्रतिशत प्रतिलिटर कमिसन पाउने गरेका छन् । मूल्यवृद्धि अनुसार व्यवसायीलाई ०.१५ पैसा कमिसन थपिनुपर्नेमा निगमले नथपेपछि उनीहरू आन्दोलित भएका हुन् । निगमका अनुसार दैनिक करिब ७ सयदेखि ८ सय किलोलिटर पेट्रोल र १ हजारदेखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री हुने गरेको छ । ढुवानी बन्द संगै पम्पमा लाइन देखिन थालेको छ । निगमले बिहीबार रातिबाट पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ५ रूपैयाँले बढाएर प्रतिलिटर नयाँ खुद्रा विक्रीमूल्य एक सय ५० र एक सय ३३ रूपैयाँ कायम गरेको छ ।
यो संगै निगमले पेट्रोल, डिजेल, मट्टितेलमा ५ रूपैयाँ मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीहरूले आफुखुसी भाडा बढाउने चेतावनी दिएका छन । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले एक विज्ञप्ती जारी गर्दै कोरोना कहरको चपेटामा परेका आम यातायात व्यवसायीले बैंक ब्याज किस्ता बुझाउन नसकेको अवस्थामा पेट्रोलियम पद्धार्थको प्रत्यक्ष उपभोग गर्ने यातायात व्यवसायी र उपभोक्तालाई समेत प्रत्यक्ष असर गरेको जनाएको हो ।
महासंघले पटक पटक मूल्य वृद्धि तत्काल फिर्ता लिनको लागि आयल निगममा पत्राचार गरिएता पनि निरन्तर इन्धनको मूल्य बढाइरहेको बताएको छ । इन्धनको मूल्य वृद्धि फिर्ता लिन पनि महासंघले अनुरोध गरेको छ । ‘मुल्य वृद्धि फिर्ता नलिएको सम्वन्धमा छलफल गर्दा सो मूल्य वृद्धि मिति फागुन २५ भित्र तत्काल फिर्ता लिनको लागि नेपाल आयल निगम समक्ष पुनः अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । सरकारबाट सो मूल्य वृद्धि तत्काल फिर्ता नलिएमा र भाडा समायोजन नगरिएमा हाल वृद्धि भए गरिएको मूल्य वृद्धिको आधारमा महासंघ भाडा समायोजन गर्न बाध्य हुने पनि उल्लेख छ ।
उडान रोक्ने चेतावनी
सरकारले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै अहिले वायुसेवा सञ्चालकहरूले असन्तुष्टि जनाउँदै हवाई उडान रोक्नेसम्मको चेतावनी दिएका छन् । नयाँ मूल्य अनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ । वायुसेवा सञ्चालक संघ नेपालले निगमले बढाएर कायम गरेको नयाँ मूल्यअनुसार प्रतिलिटर १० रुपैयाँ भन्दा बढी नाफा लिएर इन्धन बिक्री गरेमा आफुहरूले इन्धन नै खरिद नगर्ने र आन्तरिक उडान सेवा नै बन्द गर्नेसम्मको चेतावनी दिएको हो ।
संघले जारी गरेको विज्ञप्ति अनुसार निगमले हाल हवाई इन्धनमा प्रतिलिटर २३ रुपैयाँ नाफा लिँदै आएको छ । निगमले एलपी ग्यासमा ‘क्रस सब्सिडी’ दिनका लागि ग्राहकको उद्योग, व्यवसाय, वर्गको आधारमा मूल्य समायोजन गर्न आवश्यक रहेको जनाएको छ । कोरोना महामारीपछि बिस्तारै गति लिन थालेको हवाई उड्डयन क्षेत्रलाई राहतको व्यवस्था हुनुको सट्टा झन् अंकुश लगाएको संघको भनाइ छ । संघले तयार पारेको विवरणअनुसार कोभिडयता विभिन्न वायुसेवा कम्पनीले ४० लाखभन्दा बढी यात्रुलाई सेवा दिइसकेका छन् । पछिल्लो समय आन्तरिकतर्फ १५ हजार यात्रुले नियमित उडान सेवा लिँदै आएका छन् । संघले हवाई इन्धनलाई ‘ल्याभिस प्रोडक्ट’को रूपमा दर्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।