पछि परेको अवस्थामा रियल म्याड्रिडले खेल उल्ट्यायो, लालिगामा स्पष्ट आठ अंकको अग्रता !

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याउँदै रियल सोसिडाडमाथि ४–१ को सानदार पूनरागमन जित निकालेको हो ।

घरेलु मैदानमा रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । रियल सोसिडाडका मिकेल ओयरजावालको सान्त्वना बन्यो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको १०औं मिनेटमा नै घरेलु टोली खेलमा पछि परेको थियो । ड्यानी कार्भाजलले पेनाल्टी बक्समा डेभिड सिल्भामाथि फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको रियलले त्यसपछि सोसिडाडमासथ लगातार दवाव बढाउँदै ४०औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । इडुआर्डाे कामाभिंगाले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटपछि लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

६९औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता पाएन । तर, ७६औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई ३–१ ले अघि बढाए । अरिट्ज इलुसटोन्डोले भिनिसियस जुनियरममाथि फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेन्जेमा चुकेनन् ।

त्यसपछि ७९औं मिनेटमा मार्काे एसेन्सियोले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ७७औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले ड्यानी कार्भाजलको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै रियलले आफ्नो शीर्षता थप बलियो बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको स्पष्ट अग्रता लिएको छ ।

रियलको २७ खेलबाट ६३ अंक पुगेको छ । समान खेलबाटै सेभियाको ५५ अंक छ । रियलसँग हार बेहोरेको रियल सोसिडाडको ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१०:०१

रियलले पिएसजीलाई पठायो चेतावनी – ‘एक गोलको बदला चार गोल फर्काउँछौँ’