एजेन्सी – म्यानचेस्टर युनाइटेड आजको खेलमा क्रिस्टियानो रोनाल्डो बिना नै उत्रने भएको छ। प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विरुद्धको खेलमा युनाइटेड रोनाल्डो बिना नै उत्रने भएको हो।
आजको खेलमा रोनाल्डो नहुने युनाइटेडले नै पुष्टि गरेको छ। युनाइटेडले खेल अगाडी सार्वजनिक गरेको शुरुवाती ११ र वैकल्पिक खेलाडीको सूचीमा रोनाल्डोको नाम छैन।
युनाइटेडका प्रशिक्षक राल्फ रङ्गनिकका अनुसार रोनाल्डोको कम्मरमा समस्या देखिएको छ। कम्मरमा सामान्य समस्या देखिएपछि उनलाई टोलीबाट बाहिर राखिएको राल्फ रङ्गनिकको भनाई छ।
यस्तै आजको खेलमा लुक श, राफेल भाराने पनि मैदानमा उत्रने छैनन्। दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको युनाइटेडले जनाएको छ। रङ्गनिकले एडिन्सन काभानीलाई पनि टोलीमा राखेका छैनन्। चोटमुक्त भएर प्रशिक्षणमा फर्किएपनि उनी टोलीमा पर्न सकेनन्।

म्यानचेस्टर डर्बीमा आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आमने-सामने हुनेछन्। प्रिमियर लिग अन्तर्गत सिटी र युनाइटेड सिटीको घरेलु मैदानमा आमने सामने हुन लागेका हुन्।
प्रिमियर लिग उपाधि रक्षा गर्नेक्रममा रहेको सिटी र शिर्ष चारमा रहन संघर्ष गरिरहेको युनाइटेड बीचको खेल रोमान्चक हुनेछ। आज हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन्।
शिर्ष चारमा रहिरहनको लागि युनाइटेडले जित्नै पर्नेछ भने शिर्ष स्थानमा टिकिराख्न सिटीलाई जित आवश्यक पर्नेछ। जारी सिजनको पछिल्लो भेटमा सिटीले युनाइटेडलाई २-० ले पराजित गरेको थियो।
शिर्ष स्थानमा रहेको सिटीले सिजनका २७ खेल खेल्दा २१ जित निकालिसकेको छ। सिटी जारी सिजनमा मात्रै ३ पटक पराजित भएको छ भने बाँकी ३ खेलमा बराबरी खेलेको छ। सिटीको ६६ अंक छ।
त्यस्तै चौंथो स्थानमा रहेको युनाइटेडले पनि जारी सिजनमा २७ खेल नै खेलेको छ। युनाइटेडले अहिले सम्म मात्रै १३ खेलमा जित निकालेको छ। युनाइटेड अहिले सम्म ६ खेलमा पराजित भएको छ।
खेल कुन च्यानलमा हेर्ने ?
सिटी र युनाइटेड बीचको खेल नेपाली समय अनुसार रातको १० बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

