दुई दिन पनि टिक्न सकेन खुसी, एकै साथ पाँच जनाको ज्यान गयो !

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् ।

नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो ।

सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका अनुसार मृत्यु हुने अन्यमा काइँलीकी माहिला छोरापट्टिका छोरा नौ वर्षीय आशिष स्याङ्ता, सात वर्षीया आस्मा स्याङ्तान र कान्छी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान रहेका छन् । सुष्मा दुईदिने शिशुकी आमा हुन् ।

दुईदिने शिशुलाई प्रसूृतिगृहबाट अघिल्लो दिन मात्र घर लगिएको थियो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार दुईदिने शिशुका बाबु २३ वर्षीय सुभाष स्याङ्तानको अवस्था गम्भीर छ । बेहोस अवस्थामा भेटिएका उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्लास्टर गरेको र जस्ताको छानो भएको एकतले घरमा उनीहरू मृत भेटिएका थिए । घरभित्र हावा छिर्ने र बाहिर निस्कने भेन्टिलेसन नभएकाले मृत्यु भएको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जनाएका छन् । ६ जना परिवारका सदस्यहरू घरभित्र आगो बालेर सुतेको थिए । दुई दिनअघि बच्चा जन्माएकी सुस्मा र नवजात शिशुलाई न्यानोमा राख्न उनीहरूको कोठामा गोलको आगो बालेर सुतेको हुन सक्ने वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए ।

काइँलीका जेठा छोरा गाउँमै बेग्लै घरमा बस्छन् । माहिला छोरा बुहारी भने रोजगारीका सिलसिलामा मुलुकबाहिर छन् ।

घटनास्थलमा फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतको टोलीले अनुसन्धान गरेको छ । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलसहितको टोली सोमबार घटना भएको स्याङ्तानको घरमा पुगेका थिए ।

मृत्यु कारण ‘कार्बन पोइजनिङ’ हुन सक्ने
नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुन सक्ने पाटन अस्पतालका फरेन्सिक विज्ञको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि, मृत्युको आधिकारिक कारण पोस्टमार्टम रिपोर्टमा मात्रै खुल्ने महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । घटनास्थलमा पुगेका प्रहरीसहितको फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्युको भएको प्रारम्भिक जानकारी दिएको एसपी शाहले बताए ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८०८:१३

सकिँदै जसपामा उपेन्द्रको हालीमुहाली !