पार्टी बचाउन एमसीसी पास गरेको माधव नेपालले स्विकारे !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहानामा आफ्नो पार्टीलाई नै सिध्याउने प्रपञ्च रचिएको दाबी गरेका छन् ।

एकीकृत समाजवादीको बुधबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमसीसीको ब्याख्यात्मक घोषणा सदनबाट पारित गरेर पार्टीको अस्तित्व जोगाएको बताए ।

‘एमसीसी पातिर नगरेको भए हाम्रो पार्टी नै सिध्याउने तयारी भएको थियो । तर, हामीले ति सबै जोखिम टारेर पार्टीलाई जोगाएका छौं’, उनले भनेका छन्, ‘नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता पाँच दलीय गठबन्धनलाई तोड्ने र हाम्रो पार्टीलाई सिध्याउनेतर्फ अग्रसर भएको थियो ।’ उनले ब्याख्यात्मक घोषणासहित एमसीसी सदनबाट पारित गरेर आफुहरुले सबै षड्यन्त्रलाई विफल पारेको पनि बताएका छन् ।

‘सभामुखलाई पदबाट हटाउने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने, पार्टीको दर्ता खारेज गर्ने र प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिनुपर्ने सर्तमा कांग्रेस र एमालेबीच एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने सहमति भएको थियो । त्यसपछि हामी पनि वैकल्पिक निकासको खोजीमा लाग्यौं । सोहीक्रममा व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भएको हो’, नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

राजनीतिक प्रतिवेदनमा गठबन्धन भत्काउन र पुनः शक्तिमा फर्किन केपी शर्मा ओलीले षड्यन्त्र गरिरहेको आरोप पनि लगाइएको छ ।

राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘मुलुक यतिबेला राजनीतिकरूपले मुलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृति बोकेको दक्षिणपन्थी धार र अर्को संविधानको पूर्णकार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने वाम लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’

प्रकाशित : बिहिबार, फागुन २६, २०७८०८:२२

चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार ! को कता ?