एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति युरोपा लिग अन्तर्गतको खेलमा टर्किस क्लब गालाटासारेको सामना गर्दैछ। च्याम्पियन्स लिगको समूहचरणबाट बाहिरिएको बार्सिलोनाले युरोपा लिगको प्लेअफमा नापोलीलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो।

आज हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन्। बार्सिलोना सुधारिएको आक्रमणपङ्ती सहित मैदानमा उत्रँदा पछिल्लो समय निकै खराब लयमा रहेको गालाटासारे भने बार्सिलोनाको धरमराउँदो डिफेन्सको फाइदा उठाउदै सुध्रिएको प्रदर्शन गर्ने दाउमा हुनेछ।

गएको केहि समय देखि बार्सिलोना निकै राम्रो लयमा रहेको छ। जनवरी ट्रान्सफर विन्डोमा फेरान टोरेस, एडामा ट्राओरे र पिएरे एमरिक औवामियाङ जस्ता खेलाडी भित्र्याएपछि बार्सिलोनाको आक्रमणपङ्तीले निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। बार्सिलोनाले सबै प्रतियोगितामा पछिल्ला आठ खेलमा अपराजित रहेको छ।

पछिल्ला केहि खेलमा बार्सिलोनाले लालिगा च्याम्पियन एथलेटिको म्याड्रिड, एथलेटिक बिलबाओ, नापोली, भ्यालेन्सिया जस्ता क्लबलाई निकै फराकिलो अन्तरले पराजित गरेको छ।

अर्कोतर्फ, गालाटासारे भने यस सिजन युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि घरेलु लिगमा भने १२ औं स्थानमा रहेको छ। बार्सिलोना र गालाटासारे बीचको खेल भारतीय च्यानल सोनी टेन नेटवर्कमा हेर्न सकिनेछ।

