एम्बाप्पे र बेन्जेमा बीच गोप्य छलफल, पिएसजीका अधिकारीको मुटुमा ढ्यांग्रो !

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिडले एक अर्कालाई पछार्न सक्दो प्रयास गरे। पहिलो लेगमा हार बेहोरेपनि रियलले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्यो।

दुई लेगमा भएको खेलमा कुल ५ गोल भए। त्यसमध्ये तीन गोल रियलबाट भएको थियो भने दुई गोल पिएसजीको तर्फबाट। समग्रमा ३-२ को जित निकाल्दै रियल च्याम्पियन्स लिगको अर्को चरणमा पुग्यो।

पिएसजी र रियल बीचको खेलमा भएका सबै गोल गर्ने फ्रेन्च खेलाडी थिए। रियलका करिम बेन्जेमा र पिएसजीका किलियन एम्बाप्पे दुवै फ्रेन्च हुन्। दुवै खेलाडी फ्रान्सको राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका छन्।

एम्बाप्पे र बेन्जेमा रियल म्याड्रिडमा पनि सँगै खेल्न सक्ने सम्भावना छ। यस सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका एम्बाप्पे रियल म्याड्रिड जान सक्ने सम्भावना देखिन्छ। यस हिसाबले पनि एम्बाप्पेका लागि बुधबार केहि विशेष रह्यो। भविष्यमा रियलबाट खेल्ने सपना बोकेर अगाडी बढिरहेका एम्बाप्पेले सान्टियागो बर्नाबाउमा अविस्मरणीय पल व्यतित गरे।

बुधबारको खेल एम्बाप्पेका लागि धेरै कोणबाट विशेष रह्यो। रियल बाट नखेल्दै एम्बाप्पेले सान्टियागो बर्नाबाउको वातावरण अनुभव गर्न पाए। त्यति मात्र होइन खेल पश्चात उनले बेन्जेमासँग पनि केहि कुराकानी गरे।

स्पेनिस मिडियाहरुका अनुसार खेल पश्चात एम्बाप्पे र बेन्जेमा बीच झन्डै १५ मिनेट कुराकानी भएको थियो। बेन्जेमा र एम्बाप्पे बीच ड्रेसिङ रुम सँगैको एक कोठामा छुट्टै कुराकानी भएको स्पेनिस मिडियाहरु बताउँछन्। बेन्जेमा र एम्बाप्पे बीचको सो कुराकानीलाई धेरै महत्वका साथ हेरिएको छ। सो कुराकानी पश्चात एम्बाप्पेले रियलसँग अग्रिम सम्झौता त होइनन् भन्ने चर्चा पनि शुरु भएको छ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८०९:५५

एम्बाप्पेलाई सुझाव – ‘रियल जाँदै नजाउ, लिभरपुल वा सिटी जाउ’