नेयमारसँग वाक्क-दिक्क भयो पिएसजी, लखेट्ने तयारी !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनन(पिएसजी)ले नेयमारलाई बिक्री गर्न सक्ने सम्भावना बढेको छ। लगातार कम्जोर प्रदर्शन गर्न थालेसँगै नेयमारलाई पिएसजीले बिक्री गर्ने सम्भावना बढेको हो।

चर्चित पत्रकार रोमेन मोलिनाका अनुसार नेयमारसँग पिएसजी दिक्क भइसकेको छ। गत वर्ष सम्झौता नवीकरण गरेयता नेयमारको हाउभाउ र प्रदर्शन चित्त बिझ्दो छैन। नेयमारसँग पिएसजी दिक्क भइसकेको मोलिनाको भनाई छ।

नेयमार जारी सिजनमा पछिल्ला सिजनहरु भन्दा पनि कम्जोर देखिएका छन्। भन्ने नै हो भने नेयमारले आफ्नो स्तरको खेल नै प्रदर्शन गर्न सकेका छैनन्। नेयमारले पिएसजीका लागि जारी सिजनमा १९ खेल खेल्दा मात्रै ४ गोल गरेका छन्।

नेयमार पहिला भन्दा धेरै लापरवाह भएको र आफ्नो स्तरमा प्रदर्शन गर्न नसकेको पिएसजीका अधिकारीहरुलाई मात्र नभई पिएसजीका लगानीकर्ताहरुलाई समेत भान भइसकेको छ।

पिएसजीले नेयमारलाई सन् २०१७ मा बार्सिलोनाबाट २ सय २२ मिलियन युरो भित्र्याएको थियो। अहिले नेयमार जुन स्तरमा छन्, त्यस हिसाबले पिएसजीको लगानी उठ्ने कमै सम्भावना देखिन्छ।

खबरमा आएअनुसार पिएसजीले नेयमारलाई आउने सिजन १ सय मिलियन बराबरको अफर पाए पनि बिक्री गर्ने योजना बनाएको छ। पिएसजीले नेयमारलाई आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्ने धेरै फ्रेन्च मिडियाहरुको दावी छ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८०९:३२

“पिएसजीको हारमा पोचेटिनोको दोष छैन, उनी माथि औंला उठाउन मिल्दैन”