एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले गालाटासारेलाई दवावमा राखेपनि पाहुना टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण बुनेपनि गोल गर्न भने असमर्थ रह्यो ।

गलाटासारेका गोलरक्षक इनाकी पेनाले बार्सिलोनाको आक्रमणलाई एकपछि अर्काे निस्तेज पारेका थिए । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ । अब दोस्रो लेग गालाटासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस खेलमा सफलता हात पार्ने टोली नै क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

यो बराबरीसँगै बार्सिलोना पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भयो । बार्सिलोनाले कोपा डेल रेमा एथलेटिको बिल्वाओसँग ३–२ ले पराजित भएयता अपराजित रहेको छ । जसमा ६ जित र ३ बराबरीको नतिजा रहेको छ । दोस्रो लेगको खेल अर्को हप्ता गालाटासारेको घरेलु मैदानमा हुनेछ।

बार्सिलोना अघिल्लो चरणमा इटालियन क्लब नापोलीलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। च्याम्पियन्स लिगको समूह चरणबाट नै बाहिरिएपछि बार्सिलोनाले अन्तिम १६ मा स्थान बनाउनका लागि प्ले-अफ खेल्नु परेको थियो। जसमा स्पेनिस दिग्गजले समग्रमा ५-२ को जीत निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। त्यस्तै, टर्किस क्लब गालाटासारे भने समूह चरणमा शीर्ष स्थानमा रहँदै सोझै अन्तिमा १६ मा पुगेको थियो।

